बारुदको गोली बनाएर फाएर गर्ने पहिलो नेपाली जुँगे

असार ११, काठमाडौं । कलाकार उद्धव भट्टराईले आफ्नो पहिचान नै जुँगा बनाए । जुँगा पालेकै कारण उनलाई सबैले जुँगे भट्टराईका नामले चिन्न थाले र सम्बोधन पनि गर्न थाले । नेपाली सिनेमाहरुमा अभिनय गर्दै आएका जुँगेले आठ पटक कानमा बेर्न मिल्ने गरी जुँगा पालेका छन् । अहिले भने उनको जुँगा ५ देखि ६ इन्च मात्रै लामो छ ।
खास कुरा एक पटक उनले जुँगा काटेका थिए । तर, उनलाई चिन्ने र देख्नेहरुले जुँगे दाई भनेर बोलाउँदा अनुहारमा जुँगै नभएका कारण अनुहार लुकाएर हिँड्नु परेकाले उनले जुँगा पालेका थिए । उनको छोटो जुँगाको अर्को चाख लाग्दो कुरा जुँगा मिलाउँदै गर्दा कसैले बोलाई दिएपछि झस्किएर जुँगा काटियो र उनको जुँगा छोटो भयो । सामान्य लेखपढ गर्न सक्ने भट्टराई अभिनयका साथ साथै गीत लेखनमा पनि अघि छन् । आफूले २०३२ साल तिर रेडियो नेपालमा देउडा गीत गाउने गरेको भट्टरार्इले बताउनु भयो । उनले एकताका सिनेमामा कस्ट्युम डिजाइनर भएर पनि काम गर्नु भएको थियो ।

जंगलमा गएर पातपतिङगरका लुगा बनाइदिने काम पनि उनले गरेका थिए । त्यस्तै, उनले सिनेमामा कला निर्देशक, बारुदको गोली बनाएर फायर गर्ने काम अर्थात स्पेशल इफेक्टको काम पनि गरे । उनी बारुदको गोली बनाएर फाएर गर्ने आफू पहिलो नेपाली भएको बताउँछन् । उनले यो सिन सिनेमा ‘विजय पराजय’ मा २०४५ सालमा गरेका थिए । आफूले गरेको यो काममा उनलाई खुशी त दियो तर पारिश्रमिक भने एकदमै कम । उनलाई यसको लागि मात्र ५ सय पारिश्रमिक दिइएको थियो । जबकी विदेशीहरुले त्यहि काम गर्दा ८० हजार रुपैयाँ पारिश्रमिक दिइन्थ्यो ।








