चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नौ सय ५१ जना पक्राउ

मंसिर १९, काठमाडौं । प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा आज(मंगलबार) सम्म देशभरबाट नौ सय ५१ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले पक्राउ परेका मध्ये अधिकांश विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको जानकारी दिए । यस्तै केही भारतीय पनि यो अवधिमा पक्राउ परेका छन् भने कर्मचारी र अन्य राजनीतिक दलका केही कार्यकर्ता समेत पक्राउ परेका न्यौपानेले बताए ।
उनीहरु मध्ये कतिपय हात हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ परेका छन् भने कतिपयलाई प्रहरीले शंकाको आधारमा सोधपुछका लागि पक्राउ गरेको जनाएको छ ।
‘यो हाम्रो नियमित प्रकृया हो’, प्रवक्ता न्यौपानेले भने– ‘पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान गरी हात हतियार खरखजाना अन्तर्गत मुद्दा दायर गरेका छौं ।’ निर्वाचन विरोधी गतिविधिमा संलग्न हुनेहरु स्वदेशी वा विदेशी जो भए पनि सजाय फरक नरहेको प्रवक्ता न्यौपानेको भनाई छ ।
प्रहरीले काठमाडौंबाट मात्रै ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको जनाएको छ । उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको प्रवक्ता जोशीले बताए ।
चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ ।








