साबधान ! जथाभावी बाटो काट्दा जरिवाना तिर्नुपर्ला


मकालु खबर, काठमाडौं । जेठ १६ गतेबाट उपत्यकाभित्रका सडकमा जथाभावी पैदल यात्रुले बाटो काटे दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ।

यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेठ १ गतेदेखि यस्तो व्यवस्था लागू गर्ने भने पनि पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण लागू हुन सकेको थिएन।

महाशाखाले शुक्रवार पत्रकार सम्मेलन गरी १६ गतेबाट नियम लागू हुने जानकारी गराएको छ।

दुर्घटनामा प्रत्येक वर्ष पैदल यात्रुको मृत्युदर बढेकाले यसलाई नियन्त्रण गर्न यस्तो नियम ल्याइएको महाशाखा प्रमुख डिआइजी मिङमार लामाले बताए। उनले भने,‘एक जना पनि पैदल यात्रुको मृत्यु नहोस् भन्ने हाम्रो चाहना हो।’

जथाभावी बाटो काटेर साथमा पैसा नहुनेलाई तीन घण्टा नियन्त्रणमा लिएर जनचेतना कक्षा लिने लामाले बताए।

यो नियम लागू हुने भएपछि यात्रुका लागि फुटपाथको व्यवस्थापन र पैदल यात्रु सुरक्षा अभियान गरिरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

चैत महिनादेखि अहिलेसम्म जथाभावी फुटपाथमा सवारी पार्किङ गर्ने ७ हजार ४ सय ६९ जनालाई कारवाही गरिएको छ। प्रत्येक वर्ष करिब १ सय ५० जनाको सवारी दुर्घटनामा मृत्यु हुने र त्यसमा पनि ४० प्रतिशत पैदल यात्रु रहने महाशाखाको तथ्याङ्कले देखाएको छ।

वैशाख १ गतेबाट लागू भएको नो हर्न प्रभावकारी भएको लामाले बताए। नो हर्न लागू भएपछि राजधानीमा दुर्घटना कम भएको प्रहरीको दावी छ। लामाले भने ‘नो हर्न प्रभावकारी भएको छ दुर्घटना कम भएको पाइयो।’

उपत्यकाका सडकमा अहिले दैनिक ११ लाख सवारी साधन गुड्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =