‘हत्केलामा ज्यान’ कहिलेसम्म ?

किशोर खनाल, भरतपुर । राजधानी प्रवेश गर्ने मुख्य नाका हो, नारायणगढ–मुग्लिन सडक । यही सडकबाट राजधानी छिर्नेहरु यतिबेला ‘हत्केलामा ज्यान’ राखेर यात्रा गर्न बाध्य बनेका छन् ।  कतिबेला, कुन ठाउँमा पहिरो खसेर बगाउने हो या पुर्ने हो पत्तो हुँदैन । पहिरोबाट मुस्किलले जोगिन सके कुन समयमा आफू चढेको गाडी त्रिशूलीमा गुल्टिने हो, त्यो भेउ छैन । नारायणगढ–मुग्लिन सडक छिचोल्न लाग्ने घण्टौँको समय हरेक यात्रुहरुको ‘हत्केलामा ज्यान’ हुने गरेको छ । हाल नारायणगढ मुग्लिन सडक निर्माणधीनको अवस्थामा छ । ठाउँठाउँमा सडक चौडा बनाउन पहाडहरु काटिएको छ । असारको मासमा पानी परिरहन्छ । सामान्य पानी पर्दैमा काटिएका पहाडहरुबाट पहिरो खस्ने गर्दछ । ती पहिरो नै यात्रुहरुको काल बनिरहेको छ ।

नेपालगञ्जबाट काठमाडौँको लागि हिँडेका राजकुमार श्रेष्ठ शुक्रबार दिनभर नारायणगढ बसपार्कमा बसे । बिहीबार राति पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि शुक्रबार बिहानै बुटवलबाट हिँडेका राजु दिनभर नै नारायणगढमा बसेका थिए ।  बिहीबार रातिको पहिरोले प्रहरीको भ्यान बगाएको र दुई प्रहरीको मृत्युको खबर पनि उनले नारायणगढ आएपछि पाएका थिए । ‘पहिरोले सडक अवरुद्ध भएको सुनिएको छ, पहिरोले प्रहरीको मृत्यु भएको खबर सुनियो । कसरी जाने ? उनले भने, ‘नारायणगण–मुग्लिन सडक त एक खालको कालजस्तै भयो, कतिबेला कहाँ के हुने हो पत्तो छैन । यो सडकमा कहिले ढुक्कले यात्रा गर्न पाइएला ?’

भरतपुर बसपार्कमा भेटिएका सर्लाहीका रामलखन यादव नारायण–मुग्लिन सडकमा यात्रा गर्न बहुत डर लाग्ने बताउँछन् । उनी भन्छन्, ‘गाडीमा बस्यो, पहिरो झर्ला कि भनेर माथि पनि हेर्न पर्ने, गाडी त्रिशूलीमा खसाल्छ कि भनेर तल पनि हेर्नपर्ने । जतिबेला जे पनि हुन सक्ने यो सडकमा । कस्तो आपत् !’ उनी शुक्रबार काठमाडौँ पुग्ने भने पनि पहिरो खस्ने डरले शनिबार घामलागेपछि मात्र काठमाडौँको यात्रा गरे । बिहीबार राति गएको पहिरो हटाएपछि शुक्रबार साँझबाट सडक दुईतर्फी रुपमा खुलेको थियो । तर, उनी राति फेरि पहिरो खस्ने डरले शुक्रबार काडमाडौँ गएनन् र शनिबारमात्र यात्रा तय गरे । गाडी चढ्ने बेलामा उनले भने, ‘मुग्लिन पुगेपछि अली ढुक्क हुन्छ, त्यहाँ नपुगेसम्म के हो के हो ? ढुकढुक भइरहन्छ ।’

वर्षा सुरू हुन लागेपछि सो सडकमा झन जोखिम बढ्दो छ । बिहीबार राति खसेको पहिरोले प्रहरीको भ्यानसहित एउटा ट्रक बगाएको र दुई प्रहरीको मृत्यु भएको खबरले हामी यात्रा गर्नेलाई झन् डर लागिरहेको भैरहवाका अर्का यात्रु महेशकुमार झाले बताए । उनले भने, ‘नारायणगढ–मुग्लिन सडकमा एकदम डर लाग्छ, अहिले वर्खामास झन डर छ । पहिरो झरिरहन्छ ।’ उनले आफू आफन्तलाई विदेश पठाउन काठमाडौँ जान लागेको बताए ।  गत चैत २१ गते नारायणगढ–मुग्लिन सडकको घुमाउनेमो पहिरो खसेको थियो । सो पहिरोमा दुईको मृत्यु भएको थियो । शुक्रबार सोही सडक खण्डको कालिखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगायो । दुई प्रहरीको मृत्यु भयो । यसअघि पनि पटकपटक सो खण्डमा पहिरो खसेको थियो । नियमितजस्तो ढुंगा चट्टान झरिरहेको हुन्छ । विशेषगरी चार किलो र काली खोलाको पहिरोले यात्रुलाई सास्ती दिइरहेको छ । नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले पहिरोको जोखिम पहिचान गरेर सावधानी अपनाउन अपिल गरिएको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =