जनप्रतिनिधि आएपछि दुर्गमका तीन बस्तीको मुहार फेरिँदै

राजेन्द्रप्रसाद पनेरु, कञ्चनुर । स्थानीय तहको निर्वाचनपछि भीमदत्तनगरपालिका–९ का खल्ला, मुसेट्टी र टुँडिखेलको मुहार फेरिन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम बस्तीमा आधारभूत सेवा सुविधा पुग्न थालेको छ । ब्रह्मदेवबाट पैदल नै डेढ घण्टाको दूरी तय गरी पुगिने टुँडिखेलसम्म यातायातका साधन सञ्चालनका लागि सडक बनेपछि विष मिनेटमै पुग्न सकिने भएको छ । मुसेट्टीसम्म गाडी पु¥याउने काम अघि बढेको छ ।

महिला स्वास्थ्य सेविकाका भरमा चलेका बस्तीमा नियमित रूपमा गाउँघर क्लिनिक सञ्चालनमा आउँदा सर्वसाधारणले सेवा पाउन थालेका छन् । “खास ब्रह्मदेव यहींँ हो, अहिले ब्रह्मदेव त त्यो बेला सिमकोट थियो” स्थानीयबासी धौले भारतीले भने, “यति पुरानो बस्ती भएर पनि केही भएन, सधैँं समस्यामा मात्रै प¥यौ, जनप्रतिनिधि आएपछि केही काम भएका छन्, अब विकास हुन्छ भन्ने लागेको छ ।”

भीमदत्त नगरपालिका–९ वडा कार्यालयले डोजर लगाएर पहिरो पन्छाएपछि महाकाली नदी किनारको बाटामा गाडी गुड्न थालेका छन् । वडा नं ९ का वडाध्यक्ष राम नाथले भने, “सडक बनेपछि गाडीमा चढेर खल्ला, टुँडिखेसम्म पुग्न सकिन्छ ।”

स्थानीयबासी मोतीसिंह महतले जोखिम मोलेर केही महिनाअघि स्थानीयबासीसँग सहकार्य गरी बाटो खोलेका थिए । अध्यक्ष नाथले खल्ला, टुँडिखेल र मुसेट्टीसम्मको प्रमुख समस्या सडकको अभाव हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए ।

हरेक निर्वाचनमा स्थानीयबासीले जग्गाधनी पुर्जा, सडक निर्माण र विद्युत्का लागि नेतासित माग गर्दै आएका छन् । चुनाव जितेपछि नेताले आश्वासन पूरा नगर्दा अभावमै बाँच्नुपरेको यहाँका बासिन्दा बताउँछन् । “अरू बेला त केही भएन, स्थानीय निर्वाचनपछि आएका जनप्रतिनिधिले केही गर्लान् जस्तो देखिएको छ”, स्थानीयबासी कलावती धामीले भनिन्, “समस्या त अझ पनि छन् ,समाधान गरिनुपर्छ ।” विगतमा नेताले अश्वासन मात्रै दिएर फर्के पनि स्थानीय तह निर्वाचनपछि सडक बनेर सुविधा भएको उनले बताइन ।

उनीहरू जस्तै खल्लाकी अञ्जली बोहराले स्थानीय तहमा विजयी नेताले सडक र स्वास्थ्य क्लिनिकमा सामान्य प्राथमिक उपचारका लागि औषधिको व्यवस्था गरेर काम देखाएको बताइन । अरू समस्यासमेत यसै गरी समाधान गर्दै जानुपर्ने उनी बताउँछिन् ।

खल्ला, टुँडिखेल र मुसेट्टीमा चार सय परिवार बसोबास गर्छन् । स्थानीय निर्वाचनपछि टुँडिखेलमा नियमित रूपमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । गाउँघर क्लिनिककी अनमी ममता महताले सानोतिनो उपचारसहित गर्भ जाँच, सुत्केरी जाँच, परिवार नियोजनका साधन वितरण लगायत सेवा प्रदान गरिएको बताइन । मासिक रूपमा दुई सयभन्दा बढीले यहाँबाट सेवा पाउने गरेका छन् । तीन बस्ती महिला स्वास्थ्य स्वयमसेविकाका भरमा थिए । मुसेट्टीकी स्वयम् सेविकाले तीनै बस्तीमा सेवा दिएकी थिइन ।

स्थानीय तह निर्वाचनपछि खल्ला, मुसेट्टीमा खोला नियन्त्रण, खानेपानी, बाटोघाटाका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । मुसेट्टीसम्म बाटो निर्माण, विद्युतीकरण, खानेपानी, खोला नियन्त्रण, मोबाइल टावर निर्माणलगायत मुख्य समस्यालाई प्राथमिकता दिएर काम सुरु गरिने अध्यक्ष नाथले बताए । तीन वटैै बस्तीका विद्यालयमा आधारभूत तहसम्म पढ्न सकिने भएकाले स्तरोन्नतिका लागि पहल गरिने अध्यक्ष नाथको भनाइ छ ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार सिमलकोट हुँदा उत्तरका तीन बस्ती खल्ला, टुँडिखेल र मुसेट्टी खास ब्रह्मदेव थियो । छ सय वर्षअघि ब्रह्मदेवमा शक्ति बह्मदेवको शासन चलेको थियो । उनको नामबाट ब्रह्मदेव नाम राखिएको हो । पछि यस क्षेत्रमा भीमदत्त पन्तले आधार इलाका बनाई क्रान्तिको सुरुआत गरेका थिए । समय बित्दै जाँदा दशकौंँ पुरानो ब्रह्मदेव खल्ला, मुसेट्टी र टुँडिखेल मात्रै भएन, आफ्ना सबै पहिचान गुमाउँदै दुर्गम क्षेत्रमा बदलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =