घुस नदिएको झोंकमा हटाइए महाप्रबन्धक

मकालु खबर, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननर सिंह के.सी.ले कर्मचारीसँग घुस मागेको खुलासा भएको छ । उनले मागेजति घुस दिन कर्मचारी तयार नभएपछि झोंकमा एक महाप्रबन्धकलाई पदबाट हटाइदिएका छन् ।
मन्त्री के.सी.ले राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक दूतबहादुर गुरुङसँग घुस माग्दा नपाएपछि प्रतिशोधस्वरुप गुरुङलाई पदबाट हटाउने तहसम्म ओर्लिएका छन् ।
शुक्रबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा एक पत्रकार सम्मेलन गर्दै गुरुङले मन्त्री के.सी.ले आफुसँग घुस माग्दा नदिएपछि उनले आफूलाई एकाएक पद मुक्त गरेको पत्र थमाएको बताएका छन् । गुरुङलाई हटाउन के.सी.ले मन्त्रालयका सहसचिव रमेश सिंहलाई समेत उपयोग गरेका छन् ।
पत्रकार सम्मेलनमा भावुक हुँदै गुरुङले भने ‘मन्त्री के.सी.ज्यूले उनको प्रगति गराउन मसँग घुस मागे । मैले हुन्न भनेँ । बदलामा उनले झुठो कागजात बनाई मलाई पदबाट हटाएको पत्र थमाए । ममाथि घोर अन्याय भएको छ ।’ गुरुङले मन्त्री के.सी.को भ्रष्टाचारी भएको र उनको चरित्रको उदांगो पार्न संचारमाध्यमलाई आग्रह गरे ।
घुस नदिएपछि आफूमाथि चौतर्फीबाट दबाब आएको र आफूले त्यसलाई नस्वीकारे पत्रकार सम्मेलनमा गुरुङले बताए । ‘कर्मचारीले राष्ट्र र जनताको सेवा गर्ने हो । गलत र अनैतिक सर्त मानिँदैन’ उनले भने ‘मन्त्रीज्यूलाई घुस खुवाएको भए मेरो जागिर जाँदैनथ्यो, जिम्मेवारीप्रति निष्ठावान एउटा कर्मचारी भएकोले त्यसो गर्न सकिनँ ।’
मन्त्रिपरिषद्को बैठक २०७४ जेठ ८ गते बसेको तर उनलाई जेठ ७ गतेबाट लागू हुनेगरी पदमुक्त गरिएको व्यहोरासहितको पत्र जेठ १० गते बिहान मन्त्री के.सी.ले गुरुङलाई पठाए । के.सी. नेपाली कांग्रेस पार्टीको कोटामा मन्त्री बनेका हुन् । गुण्डा संरक्षकको रुपमा पनि के.सी. परिचित छन् । गुण्डा कुमार घैंटे प्रहरी भुठभेडमा मारिँदा संसदबाटै के.सी. र उनका छोरी ज्वाँई गगनकुमार थापाले विरोध गरेका थिए ।
गुरुङलाई थमाइएको पत्रमा उल्लेख गरिएको पदमुक्त लागू हुने दिन मन्त्रिपरिषद्ले पदमुक्त गर्ने निर्णय गरेको एकदिन अगाडिको छ । यसबाट षडयन्त्रपूर्वक तरिकाले प्रतिशोधमा आई मन्त्रीले गुरुङलाई किर्ते कागजपत्र तयार पारिएको प्रष्ट हुन्छ । पीडित गुरुङ यस विषयलाई लिएर अदालत जाने तयारीमा छन् ।
मन्त्रीकै आचारण घुसखोरी भएकोले राजनीति र शासन प्रणालीमा सुधार आउन नसकेको ठोकुवा समेत उनले गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =