चलेनन् लामो दूरीका गाडी, काठमाडौं पनि सुनसान

चैत १०, काठमाडौं । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ ।
सरकारले कोरोना संक्रमण भित्रिन नदिन सतर्कता अपनाउँदै आजदेखि काठमाडौं उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन प्रतिबन्ध लगाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
बिहानैदेखि लामो दूरीका सार्वजनिक सवारी साधान चलेका छैनन् । सरकारले लामो दूरीको परिभाषामा २५० किलोमिटर भन्दा लामो दूरीलाई राखेको छ । यसको अर्थ २५० वा त्यो भन्दा कम दूरीको यात्रा गर्ने सवारी साधान भने चल्न पाउने छन् । तर एक जिल्लाबाट अर्को जिल्ला भने जान नपाउने यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहोर गर्न पाइने छ । बिहानैदेखि काठमाडौंका सडक सुनसान देखिन थालेका छन् । सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन् ।
कोरोना संक्रमणको डरले काठमाडौंबाट धेरै मासिन आफ्ना गृह जिल्ला फर्किएकाले यात्रु समेत घटेको छ । बजारमा चहलपहल कम भएको छ ।








