सीएमए सङ्घको आन्दोलन फिर्ता, स्वास्थ्य मन्त्रालय पछि हट्यो

एन एच पाैडेल, पोखरा । सरकारले ल्याएको नयाँ स्वास्थ्य निर्देशिकामा सामुदायिक स्वास्थ्य सहायक (सीएमए) हरुको अधिकार कटौती गरेपछि आन्दोलित भएका स्वास्थ्य सहायकहरुको आन्दोलन टुङ्गिएको छ। स्वास्थ्य सहायक (सिएमए) र स्वास्थ्य मन्त्रालयबीच बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने लगायतका अधिकार नखोसिने सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।
सरकारले ल्याएको नयाँ निर्देशिकामा सामुदायिक स्वास्थ्य सहायक (सीएमए) लाई बिरामीको उपचार गर्नबाट रोक लगाएपछि देशभरका स्वास्थ्य सहायकहरुले ११ दिन देखि मन्त्रालयमा धर्ना दिँदै आएका थिए । सीएमए अध्ययन गरेका स्वास्थ्यकर्मीले निजी क्लिनिक खोलेर बिरामीको जथाभावी जाँच गरेको भन्दै स्वास्थ्य मन्त्रालयले उनीहरूको उपचार गर्ने अधिकार कानुनीरुपमा कटौती गरिदिएको थियो ।

आफूहरुको बिरामीको उपचार गर्न पाउनु पर्ने अधिकार फिर्ता हुनु पर्ने मुख्य माग राख्दै मुलुकभरबाट जम्मा भएका सीएमए स्वास्थ्यकर्मीले मन्त्रालयमा अनिश्चितकालिन धर्ना दिँदै आएका थिए । स्वास्थ्य मन्त्री दीपक बोहराले पदवहाली गरे लगत्तै सीएमएहरुको मागका सम्बन्धमा छलफल गरी टुंगोमा पुग्न सचिव डा. किरण रेग्मीलाई निर्देशन दिएका थिए । सचिव डा. रेग्मीले उनीहरूका माग सम्बोधन गर्न मन्त्रालयकै चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठलाई निर्देशन दिएकी थिइन ।

रेग्मीले दिएको निर्देशन लगत्तै डा. श्रेष्ठ र सङ्घका प्रतिनिधीबीच हिजो ( बुधवार) भएको छलफलमा सहमति जुटेपछि सङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको जनाएको छ । नेपाल सिएमए सङ्घका केन्द्रीय अध्यष गणेश साउदले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ दफा २ (घ) ले दिएको अधिकार कार्यान्वनयका लागि आफूहरूले आन्दोलन गरेको बताए । उनले उल्लिखित ऐनले सिएमएलाई बिरामीको उपचार, रोकथाम र क्लिनिक सञ्चालन लगायतका अधिकार दिएको बताए ।
‘स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्दे्शिका २०७०को संसोधित ऐन २०७३ले हाम्रो अधिकार कटौती गरेपछि हामीहरू आन्दोलित भएका हौ,’ उनले भने । ‘मन्त्रीस्तरिय निर्णयबाट जारी नयाँ ऐन फिर्ता भएको छ, हामीले ऐन फिर्ताको सहमति सँगै आन्दोलन फिर्ता लियौ।’ अब, सम्बन्धित ठाँउबाट क्लिनिक दर्ता हुन्छ’ साउदले भने । सहमतिमा मन्त्रालयका तर्फबाट डा भोला श्रेष्ठ र सङ्घका तर्फबाट अध्यक्ष साउदले हस्ताक्षर गरेका छन् ।
सङ्घले यसअघि शान्तिपूर्ण आन्दोलन भन्दै स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायमा ज्ञापन पत्र र एकलाख जनताको हस्ताक्षर सहित खवदारी गर्दै आएको थियो। मुलुकभर एक लाख भन्दा धेरै सीमए स्वास्थ्यकर्मीले निजी क्लिनिकमा बिरामी जाँचका साथै औषधि सिफारिस गर्दै आएका छन् ।








