राजपाको नियन्त्रणमा सप्तरीमा खटिएका ५५ जना मतदान अधिकृत

जेष्ठ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई बुधबार बिहान ११ बजे निर्वाचन सम्बन्धी तालिम राखिएको थियो । तर, बिहानै तालिमस्थल पुगेका राजपाका कार्यकर्ताहरुले प्रवेशद्वारमै सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका हुन् ।

राजपा कार्यकर्ताको नियन्त्रणमा कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास, वैद्यनाथ साह, विन्दु खंगलगायत परेका छन् । उनीहरुलाई महेन्द्र क्याम्पस परिसरमै राजपा कार्यकर्ताहरूले नाराबाजीका बीच घेरा हालेर राखेका छन् । स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
संविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचन विरोधी आन्दोलनमा छ ।








