काठमाडौं आए प्रचण्ड, अर्धचेत अवस्थामा पत्नी बिना नर्भिक पुगिन्

मंसिर ३ काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट आफ्ना सम्पूर्ण निर्वाचन कार्यक्रम छोडेर काठमाडौं आएका छन्। छोरा प्रकाश दाहालको निधन भएपछि झापाबाट चुनावी कार्यक्रम छोडेर छोरी गंगा र ज्वाईँ जीवन आचार्य तथा नातीनीसहित प्रचण्ड काठमाडौं आएका हुन्।

दाहालको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ । यद्यपी, अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए । २०३८ सालमा जन्मिएका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन्।

उनका पोखरामा रहेकी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगिसकेकी छन्।  दिदी रेणु दाहाल पनि काठमाडौँ फर्कन लागेको पारिवारिक स्रोतले जानकारी दियो।

पत्नी बिना अस्पताल पुगिन्

पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर काठमाडौंको नर्भिक अस्पातल आइसकेकी छन्। छोरासहित काठमाडौं आएकी उनी अर्धचेत अवस्था अस्पताल पुगेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौं आएकी हुन्। उनी तीन वर्षीय छोरा र बहिनीसहित काठमाडौं आएकी हुन्।

अस्पतालमा नेता कार्यकर्ताको भिड

प्रकाश दाहालको असमायिक निधनपछि परिवार र आफन्तको अस्पतालमा भीड लागेको छ। नर्भिक अस्पतालमा अहिले माओवादी केन्द्र, एमाले लगायतका दलका नेता, कार्यकर्ता र शुभतिन्तकको भीड लागेको छ। एमाले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल नर्भिक पुगेका छन्। यस्तै, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा लगायतका केन्द्रीय स्तरका नेताहरु पनि नर्भिक पुगेका छन्।

कांग्रेस नेता प्रकाशमान सिंह पनि नर्भिक अस्पताल पुगेका छन्। नर्भिक अस्पताल परिसरमा परिवारजन, आफन्त र शुभचिन्तकको उपस्थिति ठूलो संख्यामा छ।

प्रकाश दाहालको मृत्युले मर्माहत भएको छुः प्रधानमन्त्री देउवा

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युले मर्माहत भएको बताएका छन्।

आइतबार बिहान ट्विटमार्फत श्रद्धाञ्जली दिँदै देउवाले भने,‘ पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =