“रक्तदान गरौँ, अहिले गरौँ” भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै

नगरकोट । जुन १४ तारिख विश्व रक्तदाता दिवस मनाइदै छ । यस वर्ष ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ देशभर विविध गतिविधिका साथै विश्व रक्तदाता दिवस मनाइँदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।

नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाताको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा पुर्याउँदै आएको छ ।
नेपालमा हाल एक दिनमा झन्डै दुई हजार जना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ । त्यो मागलाई नेपालको ७२ जिल्लामा १०५ स्थानबाट रक्तसञ्चार सेवा पुर्याउँदै आएको छ । आवश्यकता र मागबमोजिम केन्द्रीय, क्षेत्रीय, जिल्ला, अस्पताल इकाई र आकस्मिक स्तरको रक्तसञ्चार केन्द्रबाट सेवा पुर्याउँदै आएको रेडक्रसले जनाएको छ ।
विभिन्न आविष्कारको बाबजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन । त्यसैले स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि बरदान साबित भएको छ । यसरी मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयमसेवी रुपमा अभिवृद्धि गर्नका लागि विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी देखिन्छ ।
देशको सबै भागमा जनचेतना फैलाउने उद्देश्यले विश्व रक्तदाता दिवसको राष्ट्रिय कार्यक्रम विभिन्न जिल्लामा हरेक वर्ष मनाउने क्रममा यस पटक चितवन जिल्लामा विभिन्न सांस्कृतिक झाँकी सहितको जनचेतना र्याली, रक्तदान विषयमा लोकदोहोरी गीत प्रतियोगिता, बृहद् रक्तदान कार्यक्रमलगायत विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन लागेको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डाक्टर मनिता राजकर्णिकारले बताइन् ।
रगत नपाए भक्तपुर जानु भन्ने उद्गारलाई स्वयम्सेवी रक्तदाताको सहयोगमा भक्तपुरले कायम गरिरहेको छ । स्वयम्सेवी रक्तदाताको यो सहयोगलाई हरेक वर्ष विशेष रुपमा सम्झने गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापा बताउँछन् ।
हरेक वर्ष जस्तै धेरै पटक रक्तदान गर्ने सङ्घसंस्था, व्यक्ति लगायतका रक्तदानमा सहयोग पुर्याउनु हुने महानुभावलाई जुन १४ को अवसरमा सम्मान गर्न लागिएको सभापति थापाले बताइन् । रासस








