विभागीय टिम र न्यू डायमण्ड सेमिफाइनलमा

भरतपुर, माघ २८ । पटिहानीमा भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा तीन वटा विभागीय समूह र शिवम् न्यू डायमण्ड एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ बाट सशस्त्र प्रहरीको एपीएफ र नेपाल आर्मी तथा ‘बी’ बाट न्यू डायमण्ड र नेपाल पुलिस अन्तिम चारमा प्रवेश गरेका हुन् । समूह चरणमा एपीएफ र न्यू डायमण्ड अपराजित रहे । एपीएफले समूह चरणका तीनै खेलमा सहज जित हात पार्दा न्यू डायमण्डले खेलेका दुवै खेलमा जित निकाल्यो । एपीएफले आर्मी, बंगलादेश र चितवन टाइगर्सलाई हराउँदा उही समूहको आर्मीले चितवन र बंगलादेशलाई जितेपनि एपीएफसँगको खेल बचाउन सकेन ।

अर्को समूहको न्यू डायमण्डले नेपाल पुलिस र भारतको हरियाणा पुलिस टिम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपाल पुलिसले भने हरियाणालाई ३–१ ले जित्यो ।

तर, बंगलादेशको ईफात र भारतको हरियाणा पुलिस समूह चरणका सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिए । गृह जिल्ला चितवको चितवन टाइगर्सले भने एक जित र दुई हार व्यहोर्यो । उसले बंगाली टोलीविरुद्ध २५–१६, २५–२४ र २५–२२ को जित निकाल्यो ।
भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने प्रतियोगिता संयोजक विष्णुराज महतोले जानकारी दिए ।

प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =