सुकुम्बासी समस्याको समुल अन्त्य गर्छौं : खाँण

रुपन्देही, कात्तिक २८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेें पाँच वर्षभित्र सुकुम्बासी समस्याको समुल अन्त्य गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिले सञ्चालन गरेको ५ नं प्रदेशस्तरीय मिडिया डेस्कको आज बुटवलमा उद्घाटन गर्दै उहाँले भन्नुभयो —ं “लोकतान्त्रिक गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेपछि बनेको सरकारले पाँच वर्षभित्रै सुकुम्बासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने र घर बनाउन सुलभ रुपमा रकमको व्यवस्थासमेत गर्नेछ ।”

पार्टी निर्वाचन परिचालन समितिका संयोजकसमेत रहनुभएका नेता खाँणले मुलुकको आर्थिक विकासलाई वृद्धि गरेर आगामी १० वर्षभित्र समृद्ध मुलुक बनाउने काँग्रेसले घोषणा गरेको उल्लेख गर्दै आगामी १० वर्ष भित्रमा मुलुकको वार्षिक बजेट सय खर्ब हुने बताउनुभयो ।

सो अवसरमा स्वास्थ्यमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहोराले यो प्रदेशको राजधानी रुपन्देहीमा बनाउने, सुनौली कोरला जोड्ने बाटो बनाउने र लुम्बिनीलाई विश्व मानचित्रमा स्थापित गर्नसके यस क्षेत्रको आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

रुपन्देही निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका स्वास्थ्यमन्त्री बोहोराले मुलुकको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन गरिएको बताउँदै यो गठबन्धनको जितले विकासको बिजारोपण हुने र जारी संविधानको हत्या गर्ने वामपन्थीको कुण्ठित मनसाय परास्त हुने धारणा व्यक्त गर्नुभयो ।

लुम्बिनी अञ्चल अस्पतालको समग्र विकासलाई आफूले प्राथमिकतामा राखेको बताउँदै उहाँले लोकतान्त्रिक गठबन्धनले जिते लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्वराज्यमन्त्री तथा रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भरतकुमार शाह, रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार युवराज गिरी, निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा सदस्य (क) का उम्मेदवार काजिमान श्रेष्ठलगायतले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पनि काँग्रेसको जित अपरिहार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =