युक्रेनमा हास्यकलाकारले जिते राष्ट्रपतिको चुनाव

एजेन्सी । युक्रेनका हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीय चुनावमा विजय भएका छन् । उनी भारी मतसहित विजयी भएको एक्जिट पोल भनिने सर्वेक्षणले बताएको छ । एक्जिट पोलका अनुसार उनले ७० प्रतिशतभन्दा बढी मत पाएका छन् । तीन हप्ताअघि मतदानको पहिलो चरणमा उनी सबैभन्दा अगाडि थिए । त्यतिबेला ३९ उम्मेद्वार मैदानमा थिए । 

जेलेन्सकीले सत्तासीन राष्ट्रपति पेट्रो पारोशोन्कोलाई चुनौती दिएका थिए । पारोशोन्कोले हार स्विकार गरेका छन् । राजधानी कीवमा आफ्नो समर्थकलाई सम्बोधन गर्दै उनले राजनीति नछोड्ने बताएका छन् । यस्तै, आफ्नो समर्थकलाई सम्बोधन गर्दै जेलेन्सकीले भने, ‘मैले कहिले पनि तपाईंहरुको विश्वास तोड्ने छैन ।’ 

 

null

उनले भने, ‘म अहिले नै औपचारिक रुपमा राष्ट्रपति भइसकेको छैन तर युक्रेनको एक नागरिकको रुपमा सोभियत संघपछि सबै देशलाई भन्न सक्छु, ‘हामीलाई हेर्नुहोस्, सबैकुरा सम्भव छ ।’’ 

यदि एग्जिट पोल नतिजामा परिवर्तन भयो भने जेलेन्सकी पाँच वर्षको कार्यकालका लागि राष्ट्रपति पदका लागि छानिनेछन् । युक्रेनका राष्ट्रपतिको देशको सुरक्षा, रक्षा विभाग र विदेश नीतिमा विशेष प्रभाव हुन्छ । एग्जिट पोलका अनुसार निवर्तमान राष्ट्रपति पेत्रो पारोशोन्कोले २५ प्रतिशत मत प्राप्त गर्न सक्छन् । पोरोशेन्को सन् २०१४ देखि युक्रेनका राष्ट्रपति हुन् । 

अर्बपती व्यापारी पोरोशोन्को त्यतिबेला राष्ट्रपति चुनेका थिए जब युक्रेनमा भएको प्रदर्शनपछि रुस समर्थक राष्ट्रपतिले पद छोड्नु परेको थियो । अब यो चुनावको एक्जिट पोलको नतिजा जारी भएपछि पोरोशोन्कोले भने, ‘चुनावको नतिजाले हामीलाई अनिश्चितता र भ्रममा लैजानेछ ।’ उनले भने, ‘म पद छोडिरहेको छु तर म यो भन्न चाहन्छु कि म राजनीति छोड्ने छैन ।’ 

४१ वर्षका जेलेन्सकी एक राजनीतिक हास्य ड्रामामा अभिनयका लागि चर्चित छन् । ‘सर्भेन्ट अफ द पिपल’ नामको यो सिरियलमा उनको भूमिका यस्ता व्यक्तिको थियो जो दुर्घटनावश वा अचानक युक्रेनका राष्ट्रपति बन्छन् । उनले आफ्नो कार्यक्रमको नाममा राखिएको राजनीतिक पार्टीबाटै राष्ट्रपति चुनाव लडे । जेलेन्सकीसँग कुनै राजनीतिक अनुभव छैन । आफ्नो चुनावी अभियानमा उनले आफू अन्य उम्मेद्वारभन्दा कसरी भिन्न छन् भन्ने कुरामा जोड दिए । 

उनले चुनावी अभियानमा कुनै ठोस् नीतिगत विचार पनि पेश गरेनन् । यति हुँदा हुँदै पनि उनले पहिलो चरणको मतदान ३० प्रतिशत बढी मतले जिते । दोस्रो स्थानमा रहेका पोरोशोन्कोले १५.९५ प्रतिशत मत मात्र पाएका थिए । युक्रेनका राष्ट्रपति बनेपछि उनी युरोपका प्रभावशाली नेतामा गनिनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =