यी दिनमा अब चुनाव आयो भनेर नेताका पछि कुदे खान कसले दिन्छ ?

प्रकाश धौलाकोटी, तेह्रथुम, असार २ । राजनीतिक दलका नेता तथा कार्यकर्ता असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको चुनावको प्रचार प्रसारमा व्यस्त छन् । तर, स्थानीय बासिन्दालाई कामको चटारो छ । अहिले धान रोप्ने, मकै छर्ने, गोडमेल गर्ने समय भएकाले किसानलाई कामको भ्याई नभ्याई छ ।![]()
गाउँका बासिन्दालाई चुनावको भन्दा पनि खेतीपातीको चिन्ता देखिएको छ । उनीहरुलाई कामको व्यस्तताले गर्दा को–को उम्मेदवार छानिए भन्ने चासो राख्ने समेत फुर्सद छैन । धेरै मतदातालाई को–को उम्मेदवार छन् भन्ने अत्तोपत्तो छैन । वर्षभरि खानलाई मानो रोपेर मुरी उब्जाउनुपर्ने यो वेला चुनावको चासो लिने फुर्सद नरहेको फेदाप गाउँपालिका–२, ओयाक्जुङका ६५ वर्षका शेरबहादुर सम्बाहाम्फेले बताउनुभयो ।
खेतमा काम गर्दै भेटिनुभएका उहाँले भन्नुभयो, ‘गाउँमा युवा छैनन्, काम गर्ने, बाली लगाउने, उठाउने हामी नै हौँ, यी दिनमा अब चुनाव आयो भनेर नेताका पछि कुदे खान कसले दिन्छ ?’ उहाँका दुई भाइ छोरा घरबाहिर छन् । गाउँमा भएको जग्गा काम गर्ने मान्छे नपाएर बाँझिने अवस्थामा पुगेको उहाँले बताउनुभयो । गाउँमा अरुबेला नबस्ने नेताहरु गाउँमा आएर भोट माग्दै मलाई जिताउनुस् भनेर हिँड्दा उहाँलाई अप्ठ्यारो लागेको बताउनु हुन्छ ।
‘गाउँ बाँझिदै छ, वृद्ध आमा बुवा एक्लिदैछन्, त्यसको कसैलाई चिन्ता छैन, तर चुनावको चिन्तामा धेरै युवा देखिएका छन्, उहाँ भन्नुहुन्छ, ‘दलले यी कुन–कुन युवालाई रोजगारी दिएर सक्नेहुन् कुन्नि ?’ युवाहरुलाई खेतीपाती र जन्मथलोको माया जगाउने पार्टी पाए त्यस्तालाई भोट दिने उहाँले बताउनुभयो ।
‘गाउँमा नेताहरु भोट माग्न आउँछन्, आफूलाई खाने फुर्सद पनि छैन’ छथर गाउँपालिका-२ का लालबहादुर तोलाङ्गीले भन्नुभयो, ‘पटक-पटक चुनावको मिति सारेर असार १४ मा पुर्याए । हामीलाई भने कामले एकछिन फुर्सद छैन ।’ नेतालाई चुनावी चटारो जस्तै किसानलाई कामको चटारो छ । अहिले चुनावी प्रचार प्रसार गर्न गाउँमा गएको बेला घरमा कोही नभेटिने भएकाले नेताहरु पनि खेतबारीमै भेट्न जाने गरेका छन् ।
‘दिउँसो त गाउँका घरमा कोही भेटिदैनन्, छथर गाउँपालिकाका अध्यक्ष उम्मेदवार सन्तोष तिगेलाले भन्नुभयो, ‘हामी त भोट माग्दै खेतबारीमै पुग्छौँ, पुगिरहेका छौँ ।’ अहिले गाउँघर भन्दा खेतबारीतिर नेता कार्यकर्ता पुग्ने गर्दछन् । कामको सिजन भएकाले घरमा भन्दा बारीमा सबै मानिस भेटिने भएकाले प्रचार प्रसार पनि खेतबारीमै गएर गर्ने गरेको तिगेलाले बताउनुभयो । अहिले जिल्लाका ग्रामीण क्षेत्रमा रोपाईको चटारो छ ।
उच्च तथा लेकाली क्षेत्रमा हिलो आली धमाधम छ किसानलाई । तल्लो तटीय क्षेत्रमा मकै छर्ने र मध्य क्षेत्रका बासिन्दा मकै गोड्ने मल लगाउने काममा व्यस्त छन् । जिल्लाका श्रीजुङ, पौठाक, ओयाक्जुङ, मोराहाङ, आङ्दिम, इवा, खाम्लालुङ, इसिवु, सम्दु लगायत गाउँमा रोपाई चलिरहेको छ ।
बाँकी गाउँहरुमा मकै गोड्ने काममा किसानहरु व्यस्त छन् । यो वर्ष चाँडै वर्षा भएकाले पनि अधिकांश ठाउँमा छिट्टै धान रोपाई भएको ओयाक्जुङका जीवन भण्डारीले बताउनुभयो । काम गर्दै गरेका किसानलाई अल्मल्याउन खेतबारीमै पुग्ने नेताहरुलाई किसानले जसले काम सघाउँछ, उसलाई भोट दिन्छौँ भन्दै जिस्काउने गरेका नेताहरु सुनाउँछन् ।
गाउँका मतदाताले निर्वाचनलाई भन्दा खेतीपातीलाई ध्यान दिनुपर्ने भएकाले शतप्रतिशत मत नखस्ने निश्चित जस्तै रहेको नागरिक समाजका अध्यक्ष तुलसी संग्रौला बताउनुहुन्छ । ‘किसानलाई खेतमा हिलोआलीको चिन्ता छ’ उहाँ भन्नुहुन्छ, ‘कत्तिलाई त चुनावको चासै छैन, धेरैले भोट हाल्दैनन् ।’
वर्षाले वृद्ध–वृद्धा मतदातालाई सकस हुने भएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले खेतीपातीमा व्यस्त मतदातालाई मतदान केन्द्रसम्म तान्न निकै मेहनेत गर्नुपर्ने उहाँको बुझाई छ । दलहरुले घरदैलो गर्दै जाँदा पनि सर्वसाधारण किसानले त्यति चासो नदेखाएका उहाँले बताउनुभयो । निर्वाचनको मिति पटक पटक सरेकाले पनि मतदातामा निराशा छाएको उहाँले बताउनुभयो ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल ६० हजार ७ सय २१ जना मतदाता रहेका छन् । ५७ स्थानमा ८५ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । सबै ठाउँमा निर्वाचनको तयारी अन्तिम भएको निर्वाचन अधिकृतका कार्यालयहरुले जनाएका छन् । मतपत्र व्यस्थापन, मतदान केन्द्र व्यवस्थापनको तयारी, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्था लगायत सबै तयारी सकिएको जिल्ला निर्वाचन अधिकारी निर्मल कुमार राईले बताउनुभयो ।
उहाँले जिल्लैभरि निर्वाचन शिक्षा कार्यकर्ताहरु खटाएर मतदाताहरुलाई मतदानबारे शिक्षा दिइरहेको बताउनुभयो । जिल्लाका बसन्तपुर, म्याङलुङ्ग र सक्रान्तिबजारमा नमुना मतदान कार्यक्रम समेत गरिएको छ ।








