रौतहटमा राति देउसीभैली खेल्न प्रतिबन्ध

कात्तिक २, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले तिहारमा राति देउसीभैली खेल्न प्रतिबन्ध लगाएको छ । शान्ति र सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले राति अबेरसम्म देउसीभैली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले राति ९ बजेपछि देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारबाही गरिने बताउनुभयो ।

प्रशासनले पटाका, बिस्फोटजन्य पदार्थ, भुईचम्पाको आयात तथा बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ । विगतका वर्षहरूमा आतसवाजी, भुईंचम्पा एवं पटका जस्ता बिस्फोटक पदार्थहरुको प्रयोगबाट जनधनको क्षति भएकोले सोको प्रयोग समेत नगर्न आग्रह गरिएको छ ।
चाडपर्वको समयमा घरमा चोरी, लुटपाट हुने हुँदा सर्वसाधारणलाई चनाखो हुन र घरमा धेरै रकम र गहना नराख्न प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले बताउनुभयो । उहाँले सर्वसाधारणको सुरक्षाको लागि प्रहरी २४ घण्टा तयारी अवस्थामा रहेको कारण कसैलाई कुनै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।








