मन्त्रालयलाई थाहा छैन


जेठ ३१, काठमाडौँ । सरकारले पूर्णता पाईनसकेको अवस्थामा स्वास्थ्य मन्त्रालय अन्र्तगतका प्रतिष्ठानहरुमा धमाधम ब्याक डेट राखेर नियुक्ति गर्न थालिएको छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्याक डेटमा हस्ताक्षर गरेर रजिष्ट्रार नियुक्ति गरेसँगै अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सोही प्रक्रिया अपनाएर पदाधिकारी नियुक्ति गरिएको छ ।
मन्त्रालय स्रोतका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष र वीपी कोइराला स्वास्थ्य मन्त्रालयको अस्पताल निर्देशकमा निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले ब्याक डेटमा हस्ताक्षर गर्दै पदाधिकारी नियुक्ति गरेका छन् ।
निवर्तमान मन्त्री थापाले वीपी प्रतिष्ठानको अस्पताल निर्देशकमा बालरोग विशेषज्ञ डा. गौरी शङ्कर शाह र पाटन प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. राजेश गंगोललाई नियुक्ति गरेका छन् । डा. मंगोलका लागि थापाले जेठ १९ गतेको पत्रमा हस्ताक्षर गरेका छन् । भने, डा. शाहका लागि कहिले पत्र काटेको मन्त्रालयका कुनै पनि पदाधिकारी र कर्मचारीलाई थाहा छैन । तर, वीपी प्रतिष्ठानमा डा. शाह अस्पताल निर्देशक भएको हल्ला ब्यापक भएको छ । यस विषयमा बुझ्न डा. शाहलाई सम्पर्क गर्दा उनको फोन उठेन ।
मन्त्रीस्तरीय निर्णयबाट गरिएको निर्णय भनेपनि मन्त्रालयका सचिवदेखि चिकित्सा विभागका पदाधिकारीलाई समेत थाहा नहुनु अचम्मको कुरा भएको छ ।
पाटन र वीपी प्रतिष्ठानमा रिक्त रहेको पदहरुमा कहिले निर्णय गरियो भन्ने विषयमा मन्त्रालयका प्रवक्ता, चिकित्सा महाशाखाका प्रमुखलाई समेत थाहै छैन । ‘म जेनेभा जानु अघि फाइल गएको थियो तर, कहिले निर्णय भयो मलाई थाहा भएन ।’ मन्त्रालयका चिकित्सा महाशाखाका भोलाराम श्रेष्ठले भने । मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले पनि आफूलाई कुन नियुक्ति कसरी भएको केही थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गरे । ‘यो विषयमा हामीलाई केही थाहा छैन, मन्त्रालय मन्त्री विहिन छ, यस्तो बेला कसरी निर्णय भयो हामी आफैँ अचम्म छौँ ।’ उनले भने ।

डा. गौरीशंकर शाह

यता विपी प्रतिष्ठानका केही सिनियर प्राध्यापक डाक्टरहरुले डा. शाहको नियुक्तिमा चलखेल भएको बताएका छन् । प्रतिष्ठानमा कार्यरत एक डाक्टरले उपकूलपति डा. राजकुमार रौनियारले डा. शाहबाट चार करोड लिएर अस्पताल निर्देशक बनाएको दाबी गरे । ‘डा. गौरीशंकर शाहलाई हस्पिटल डाइरेक्टर बनाउन भिसीले चार करोड लिएको भन्ने सुन्नमा आएको छ, यस्तो चलखेलले प्रतिष्ठानको हित गर्दैन ।’ उनले भने ।
प्रतिष्ठानका पूर्व सहायक अस्पताल निर्देशक प्रा.डा. गुरु खनालले ५ वर्ष अघि आफू अस्पताल निर्देशक हुन चाहँदा पनि पैसा मागिएको भन्दै यस पटक पनि चलखेल भएको सुन्नमा आएको बताए । ‘अहिले मन्त्रालय मन्त्री विहिन भएको अवस्थामा कसरी नियुक्ति भयो ? पुरानो मन्त्रीले पहिल्लै नियुक्ति गरेको भए किन अगाडी सार्वजनिक गरिएन ?’ उनले भने ।
मन्त्रालय स्रोतका अनुसार नियुक्तिको पत्र कुरियर्स गरेर पठाइएको छ । अन्य बेला फ्याक्स मार्फत तथा मन्त्रालयमै बोलाएर दिइने गरे पनि पाटन र वीपी प्रतिष्ठानका पदाधिकारी नियुक्तिमा वल्र्ड वाइड कुरियर्सबाट पठाइएको छ ।
पाटनका लागि हिजो मङ्गलवार कुरियर्सबाट पत्र आएको पाटनका मेडिसिन विभागका प्रा.डा. युवराज शर्माले जानकारी दिए । पाटनमा नियुक्त भएका डा. गंगोल पूर्व फाउण्डिन डीन तथा सर्जरी विभागको प्राध्यापक हुन् । उनले बेलायतमा क्यान्सर उपचार सम्बन्धी उच्चरुतरीय तालिम समेत लिएका छन् । उनी वीर अस्पतालमा कार्यरत वरिष्ठ सर्जन डा. दिनेशनाथ गंगोलका छोरा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =