रोनाल्डोले जिते फिफा वर्ष खेलाडीको अवार्ड

एजेन्सी ।  स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षकाे फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति लन्डनमा भएको भव्य समारोहमा रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो । योसँगै रोनाल्डोले पाँचौ पटक अवार्ड जितेर बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेस्सीको कीर्तिमानसँग बराबरी गर्न सफल भए । मेस्सीले पनि पाँच पटक अवार्ड जितेका छन् ।

रोनाल्डोले अन्तिम मनोनयनमा रहेका मेस्सी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पार्न सफल भएका हुन् । गत सिजन रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुष टिमको प्रशिक्षकको अवार्ड रियल म्याड्रिडकै जिनेदिन जिदानले जितेका छन् । जिदानले युभेन्टसका मासिमिनियानो एलेग्री र चेल्सीका एन्टोनियो कोन्टेलाई पछि पारे ।

त्यस्तै, महिला खेलाडीको अवार्ड बार्सिलोनाकी डच खेलाडी लिके मार्टिन्सले जितिन् । उनले फ्लोरिडाकी डेएना कास्टेलानोस (भेनेजुएला)  र म्यानचेस्टर सिटीकी कार्ली लोयड (अमेरिका) लाई पछि पारेर अवार्ड हात पारिन् । महिला टिमको प्रशिक्षकको अवार्ड नेदरल्यान्ड्स राष्ट्रिय टिमकी सारिना विग्मानलाई प्रदान गरियो ।

उत्कृष्ट गोलकिपरको अवार्ड इटालियन क्लब युभेन्ट्सका बुफोनले हात पारे । उनले अन्तिम मनोनयनमा रहेका रियल म्याड्रिडका केलर नाभास (कोस्टारिका) र वायर्न म्युनिखका म्यानुयल नेउर (जर्मनी) लार्इ पछि पारे । उत्कृष्ट गोल गरे बापत प्रदान गरिने पुस्कस अवार्ड आर्सनलका स्ट्राइकर ओलिभर जिरुडलाई दिइयो । यो अवार्डमा दश जना अन्तिम मनोनयनमा थिए । स्कटिस क्लब सेल्टिकका समर्थकले फ्यान अवार्डको पुरस्कार जिते । फेयर प्ले अवार्ड टोगोका फ्रान्सिस कोनेलाई दिइयो ।

फिफाले विश्वका उत्कृष्ट  खेलाडी समेटेर विश्व–११ टिम पनि सार्वजनिक गरेको छ ।

विश्व–११ टिम
गोलकिपर – बुफोन
डिफेन्डर – सर्जियो रामोस, बोनोची, मार्सेलो, ड्यानी अल्भेस
मिडफिल्डर – टोनी क्रुस, आन्द्रेस इनिष्टा, लुका मोड्रिक
फरवार्ड – लिओनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेइमार

अवार्ड विजेता 
पुरुष खेलाडी – क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – रियल रियल म्याड्रिड

महिला खेलाडी – लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना

पुरुष टिमको प्रशिक्षक – जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड

महिला टिमको प्रशिक्षक– सारिना विग्मान (नेदरल्यान्ड्स) –  नेदरल्यान्ड्स राष्ट्रिय टिम

गोलकिपर – बुफोन (इटाली) –  युभेन्ट्स

पुस्कस अवार्ड –  ओलिभर जिरुड – आर्सनल

फ्यान अवार्ड – सेल्टिक समर्थक

फेयर प्ले अवार्ड –  फ्रान्सिस कोने – टोगो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =