कांग्रेसमा देउबाले सक्षम र राम्रा मान्छेलाई भन्दा आफ्ना मान्छेलाई काखी च्यापे -सुजाता

काठमाडौँ, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भएको बताएकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाले सक्षम र राम्रा मान्छेलाई भन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको आरोप लगाईन् ।

कोइरालाले पार्टी सभापति देउबाको यस्तै कारणले पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइएकी छिन् । उनले निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्नेमा जोड दिईन् ।

उनले भनिन्, ‘पद छोड्नै पर्छ भन्ने छैन, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।’

पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै उनले भनिन्, ‘गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरि जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ ।’

कांग्रेसको आगामी यात्रा तय गर्न अब महासमितिको बैठक चाँडै बसी अगाडी बढ्नुपर्ने बताईन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् । अहिले संसदमा कांग्रेसको प्रतिपक्षीको भूमिका पनि सन्तोषजनक नभएको जिकिर गरेकी छिन् ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा उनले नेपालको हितमा हुनेगरि भ्रमणलाई केन्द्रित गर्न सुझाब दिएकी छिन् । उनले भनिन्, ‘भारत र चीन दुवै देशबाट नेपालले फाईदा लिनसक्नुपर्छ, दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =