५५ लाख हिनामिना गरेर फरार रहेका यसमाली १ वर्षपछि पक्राउ

“
धनकुटा, असार १ । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिका–७ स्थायी घर भएका यसमाली जिल्ला प्रशासन कार्यालय धनकुटाले २०७४ असार २३ पक्राउ गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।
त्रिवेणी माध्यमिक विद्यालयका निमावि स्थायी शिक्षकसमेत रहेका यसमाली सहयात्री सहकारी संस्थाको रु ५५ लाख एवम् अन्य व्यक्ति एवं संस्थाको थप ठगीको उजुरी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसमाली धनकुटा नगरपालिका–७ स्थित निजी घर आएको मौका पारी धनकुटाबाट खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी कोशी पहाडका चार जिल्ला हेर्ने डिभिजन सहकारी कार्यालय धनकुटाले यसअघि पनि धनकुटामा सञ्चालित ५४ वटा सहकारी संस्थाको दर्ता खारेजीका लागि प्रक्रिया अघि बढाउन सचेत गराइएको जनाइएको छ ।
सहकारीको आर्थिक पारदर्शिता नदेखाउने, समयमा साधारणसभा एवं लेखापरीक्षण नगर्ने, सहकारी नियमको बर्खिलाप गर्दै आफूखुसी चलेका र आर्थिक हिनामिनाको आरोपमा धनकुटा जिल्लाका १६ वटा सहकारी संस्था खारेजीमा परेका थिए ।
कोशी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा हाल ५८३ उपभोक्ता सहकारी संस्था दर्ता भई सञ्चालनमा डिभिजन कार्यालय धनकुटाको तथ्याङ्कमा रहेको छ ।
“








