कोरियन भाषा परिक्षा भोलीबाटः प्रशिक्षक सुवेदी भन्छन्, परिक्षामा यस्ता गल्ती गर्दै नगर्नुस्

” 

काठमाडौँ, जेठ २५ । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने इपीएस परिक्षा भोली (२६ गते) बाट शुरु हुने भएको छ । परिक्षाका लागि काठमाडौँ, ललितपुर र पोखराका विभिन्न २८ वटा केन्द्र तोकिएको छ ।

भाषा परिक्षा दुई सिफ्टमा हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ भने दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुनेछ । परिक्षाको नतिजा भने आगामी असार १६ गते प्रकाशित हुनेछ ।

नेपाली युवाहरुको वैदेशिक रोजगारीको लोकप्रिय गन्तव्य मध्ये कोरिया पनि खास बनेको छ । कोरियामा श्रमको उचित मुल्याङ्कन हुने र पढ्दै काम गर्नुपर्ने झन्झट नहुने हुनाले पनि नेपाली युवाको आकर्षणको केन्द्र बनेको हो कोरिया ।

कोरियामा श्रमको उचित मुल्याङ्कन गरेर कामदारलाई सन्तुष्ट राख्ने गरिन्छ । तर कोरियाका मानिसहरु मेहनती हुने हुनाले समय र कामलाई सहि व्यवस्थापन गर्न खप्पिस हुन्छन् । त्यसैले कोरिया जाने सोच बनाएका नेपाली युवाले समय र कामको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

नेपालमा कुनै श्रम नगरी बसेका युवालाई भने शुरुमा अलि कठिन नै हुन सक्ने कोरियन भाषा प्रशिक्षकहरु बताउँछन् ।

विगत १२ वर्षदेखि कोरियन भाषा प्रशिक्षकको रुपमा कार्यरत कोरियन भाषा प्रशिक्षक प्रकाश सुवेदी भन्छन्, ‘कोरियनहरु आफू पनि निकै मेहनतसँग काम गर्ने भएको हुँदा कामदारले पनि समय र काम दुवैलाई निक्कै ध्यान दिनुपर्ने हुन्छ । कोरियामा समय, काम र उत्पादकत्वलाई प्राथमिकता दिने हुनाले तुलनात्मक रुपमा कठिन छ । तर प्रजातान्त्रिक राष्ट्र भएकोले स्वतन्त्रता र मानव अधिकारको पनि प्रत्याभुति हुन्छ । साथै कोरिया सरकारले कामदारको सुरक्षामा पनि उत्तिकै ध्यान दिने गर्छ । कामदारको सुरक्षा र समस्या समाधानको लागि कोरियन सरकारले विभिन्न संस्था तथा नीति नियमहरु बनाएको छ ।’

‘२०५०–५१ सालतिर नेपाली कामदारहरु लुम्बिनी ओभरसेजबाट ट्रेनिङ भिसामा कोरिया जाने गर्थे । २०६२ सालबाट कोरियन सरकारले नेपालमा इपीएस प्रणाली लागु गरेको हो । र नेपालबाट २०६५ सालदेखि कोरिया जान शुरु भएको हो’ उनले भने ।

कोरिया जानका लागि कोरियन भाषा पास गर्नु जरुरी छ । परिक्षामा विद्यार्थीहरु डराउने वा हड्बडाउने गर्छन्, जसले गर्दा परिक्षा उत्तीर्ण गर्न सकिँदैन । कोरियन भाषाका प्रशिक्षक सुवेदी विद्यार्थीलाई नअत्तालिकन परिक्षा दिन सुझाव दिन्छन् । परिक्षामा विद्यार्थीले यी उपाय अपनाए परिक्षा उत्तीर्ण गर्न सकिने सुवेदीको बुझाइ छ ।

–परिक्षाको अघिल्लो दिन एक पटक आफूले पढेको कोर्स बुक सरसर्ती हेरी आफूलाई फ्रेस राख्नुहोस्

–पहिले आफूलाई दुविधा भएर सोधखोज गरिएका प्रश्नहरुलाई एक पटक दोहोर्याउनुहोस्, किनकी परिक्षा नजिकै आउँदा दोहोर्याएका विषयवस्तुले आफूलाई हल्का बनाउँछ ।

–यदि पहिला राम्रोसँग पढ्नुभएको छैन भने सरसर्ती हेरेर खासै उपलब्धि हुँदैन झन तनाव हुने गर्छ, त्यसैले जति सकिन्छ त्यति हेर्नुहोस् ।

–परिक्षा हलमा २ घण्टा अगाडि पुग्नुहोस् । साथमा लेमिनेशन नगरेको कलर फोटोकपि र पासपोर्ट अनिवार्य लिएर जानुहोस् ।

–परिक्षामा विशेष गरी ३ वटा विषयमा ध्यान दिनु जरुरी हुन्छः

१ .समय व्यवस्थापन

–समय व्यवस्थापनका लागि विद्यार्थीले घडी लगाएर जानु उत्तम हुन्छ, किनकी रिडिङ टाइममा समय व्यवस्थापन गर्न अति आवश्यक हुन्छ ।

२. तनावको व्यवस्थापन

–विशेष गरी धेरैजसो विद्यार्थीहरु शुरुमै प्रश्नपत्र हेरेर आत्तिने गर्छन् जसले गर्दा आफ्नो मनलाई सामान्य अवस्थामा ल्याउन समय खर्च हुन्छ, यसले तपाईँलाई परिक्षामा समय नपुग्न पनि सक्छ ।

–बीचमा कुनै प्रश्न नजाने धेरै तनाव नलिनुहोस्, नजानेको प्रश्नमा अलमल गर्दा अन्य प्रश्न समेत बिग्रन सक्छ । यस्तो समस्या धेरै विद्यार्थीमा देखिन्छ, त्यसैले आफूले बुझ्नै नसकेका प्रश्नहरुमा समय बर्वाद हुनबाट जोगिनुहोस् ।

–कतिपय विद्यार्थीहरु अरु विद्यार्थीको हेर्न मिल्छ कि भनेर अरुलाई ध्यान दिने पनि हुन्छन्, त्यसले स्वतः आफ्नो ध्यान अरु तर्फ केन्द्रित हुन्छ र आफूले जानेका प्रश्नहरु पनि बिग्रन सक्छ ।

३. उत्तर पुस्तिकामा सहि उत्तरको सहि नं को अप्सनमा गोलो घेरा लगाउने, गोलो घेरा लगाउँदा घेरा भन्दा बाहिर भर्नुहुँदैन ।

–गल्तीले एउटा प्रश्नको २ वटा उत्तरमा लाग्यो भने त्यो प्रश्न पनि रद्द हुन्छ ।

–अर्कोतर्फ धेरै विद्यार्थीहरुले गर्ने गल्ती भनेको बीचको प्रश्न नआएर अर्को प्रश्न गर्दा गलत नं को अप्सनमा टीक लगाउनु हो । यस्तो गल्ती नगर्न हरेक प्रश्नको उत्तरमा टीक लगाउँदा अगाडि कति नं को लाइनमा लगाइएको छ र अहिले लगाउन लागेको अप्सन कति नं को हो भन्ने ट्याली गर्नुहोस् ।

कोरियन भाषा परिक्षामा सन् २०१९ देखि भने सीप परिक्षण पनि अनिवार्य गरिने भएको छ । कोरियाले आगामी वर्षका लागि ७ हजार १ सय जना कामदारलाई परिक्षाबाट छनौट गर्ने भएको छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रतर्फ ४ हजार ८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार ३ सय जनालाई उत्तीर्ण गराउने भएको छ ।

(प्रस्तुतीः सृष्टि नेपाल, कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =