सांसद निलम्बन व्यवस्था नियमावलीबाट हुन सक्दैन –कांग्रेस

काठमाडौँ, जेठ २५ । व्यवस्थापिका–संसदको आजको बैठकमा नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले सांसदलाई नियमावली लगाएर निलम्बन गर्न नमिल्ने बताएका छन् । नियमावली मस्यौदामाथि छलफल गर्दै रिजालले संविधानमा सांसदको अयोग्यताको विषय संघीय कानुनले मात्र किटान गर्न सक्ने भन्दै उनले नियमावलीमा निलम्बनको व्यवस्था राख्न नहुने बताएका हुन् ।

छलफलमा उनले भने, ‘सांसदको अयोग्यताको विषय संघीय कानुनले तोकेको हुनुपर्‍यो । त्यसको व्यवस्था नियमावलीबाट हुन सक्दैन, नियमावली संविधानको धारा १०४ बमोजिम संसदको कार्य सञ्चालन गर्नका लागि मात्र बनेको हो । नियमावली त्यसभन्दा अगाडि जान सक्दैन ।’

नियमावलीबाटै सांसद पद समाप्त हुने हो भने ७० वर्षको उपलब्धि खेर फाल्नुसरह हुने डा. रिजालले बताए ।

एउटा सांसदले उसका मतदाताले भन्दा बढी सहुलियत पाउनुहुँदैन भन्नेमा आफूहरु सहमत भए पनि संसदको कार्यसञ्चालनका लागि बनेको नियमावलीले सांसदको अयोग्यताबारे व्यवस्था गरेमा गलत नजीर बस्ने रिजालको तर्क छ ।

सांसद रिजालले सांसदको अयोग्यतासम्बन्धी सरकारले छुट्टै ऐन ल्याउनुपर्ने बताए । उनले भने– ‘सरकारले अयोग्यता सम्बन्धी संघीय कानुन ल्याओस् । त्यसमा निलम्बनको व्यवस्था ल्याओस् हामी मान्छौं । तर संसद सञ्चालन गर्ने नियमावलीमा त्यो कुरा राख्न पाइँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =