कोरोना भाइरस विरुद्ध ‘मुलुक नै लक डाउन’ गर्नुपर्छ भन्दै डा. शेखर गाउँ पस्दा अन्य कांग्रेसी नेता कता गए ?

चैत्र १०, काठमाडौं । विश्वब्यापी कोरोना भाइरस संक्रमणबाट नेपाली जनतालाई बचाउने हो भने तत्कालै मुलुकलाई लक डाउन गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
विश्वका १७३ भन्दा बढि देशमा फैलिइसकेको कोभिड १९ नेपालमा हालसम्म देखा नपर्नु सकारात्मक भएपनि खुल्ला सिमाका कारण कुनैपनि बेला भित्रन सक्ने भएकोले सिमा नाका पूर्णरुपमा बन्दै गरेर लक डाउन गर्नुपर्ने डा. कोइरालाको धारणा छ ।
‘कोरोना भाइरसले नेपाली जनजिवन त्रसित र भयावह बनाएको छ । भारतिय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था छैन, सरकारले ति ब्यक्तिहरुको लागी प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गर्नुपर्छ ।’ चिकित्सक समेत रहेका डा. कोइरालाले भने ।

उनले भारतीय नाकाबाट आएका नेपालीहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्न लगाउनु पर्ने बताउँदै मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुको रेन्डम कोरोना भाइरसको परिक्षण गरिनुपर्ने पनि बताए ।
एक साता अघिसम्म नेपाली कांग्रेसको अभियानमा विभिन्न जिल्ला भ्रमणमा रहँदापनि डा. कोइरालाले पार्टीका कार्यकर्ता र स्थानीय जनता माझ कोरोना भाइरस संक्रमणका विरुद्ध सचेतना फैलाइरहेका थिए ।
त्यसैविच पार्टी प्रवक्ताले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा कोरोना भाइरसकै कारण पार्टीको कार्यक्रम स्थगित गर्ने निर्णय स्मरण गराउँदै डा. कोइरालालाई फोन गरेका थिए । त्यसपछि पनि डा. कोइरालाले केही जिल्लाहरुमा कार्यकर्ता र जनता माझ कोरोना भाइरस संक्रमण सचेतना फैलाएका थिए ।
अहिलेपनि डा. कोइराला गृहजिल्ला मोरङ विराटनगरमा छन् । उनी आफ्नो गृह जिल्लामा स्थानीय जनतालाई कोरोना भाइरस सचेतना फैलाइरहेका मात्र छैनन् कमजोर आर्थिक अवस्था भएका जनतालाई निःशुल्क मास्क पनि वितरण गरिरहेका छन् । डा. कोइरालाले विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा तीन हजार ९ सय थान मास्क वितरण गरेका छन् ।
डा. कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका थिए । टोलगत रुपमा प्रतिनिधिमार्फत मास्क वितरण गर्ने प्रबन्ध गरिएको थियो । कतिपय टोलमा मास्क वितरण गर्न डा. कोइराला आफैं मास्क लगाएर पुगेका थिए ।
कोरोना संक्रमण खतराको बेला धेरै भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर–घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । डा. कोइरालाले मास्क वितरणसँगै जनतालाई कोरोना भाइरसबाट कसरी बच्ने सुझाव समेत दिएका थिए । उनले अत्यावश्यक काम वाहेकमा घर बाहिर ननिस्कन जनतालाई सुझाव दिए ।
वडाका उत्तरबखरी, दक्षिण बखरी, पान्चाली, रोडशेष चौक, मझुवा, दरेहैया, दरेहैया आदर्श टोल, गढा टोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसँगै दुई दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिएका छन् ।
डा. शेखर गाउँमै गएर जनतामाझ कोभिड १९ विषयमा सचेतना फैलाउँदा अन्य कांग्रेसी नेताहरु भने आफ्नै सुरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा छन् । कांग्रेसका पहिलो वरियताका नेताहरु पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधी, मीन विश्वकर्मा, डा. रामशरण महत, प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु घरमै बसेका छन् ।








