बजेटमाथिको छलफल आज सकिने, अर्थमन्त्री खतिवडाले जवाफ दिने
“
काठमाडौं, जेठ २० । सरकारले ल्याएको आर्थिक वर्ष २०७५–७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा भएको छलफल आज सकिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमाथि बिहिबार र शुक्रवार छलफल भइसकेको छ ।
अहिलेसम्म ७० भन्दा बढी सांसदले छलफलमा भाग लिएका छन् । छलफलमा भाग लिन नाम दिएकामध्ये २० जना सांसदले बोल्न बाँकी रहेको संसद सचिवालयले जनाएको छ । छलफल सकिएपछि अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसुची रहेको छ । खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बजेटप्रति असन्तुष्टि जनाएका छन् ।
बजेटबारे आज केही सांसदहरुले बोलेपछि अर्थमन्त्रीले यसबारे जवाफ दिने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
यस्तै आजै बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकले विनियोजन विद्येयक, राष्ट्रऋण उठाउने विद्येयक, ऋण तथा जमानत विद्येयक टेबुल हुनेछन् । विद्येयक टेबुल भएपछि जेठ १५ गतेको दोस्रो बैठकमा टेबुल भएको आर्थिक विद्येयकमाथिको छलफल सुरु हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
“