“राम्री केटीको खोजी” एक मन छुने कथा

राज राई ‘संगम’ /शारजाह, युएई

पुरुष युवा साथीहरू, पक्कै पनि राम्री केटीको सवालमा हामी हैरान छौँ। युवा साथीहरू अक्सर भन्ने गर्छन्, “ यार आजभोलिको जमाना एउटा पनि केटीहरू राम्रा भेटिन्नन् । सब खत्तम् । आजका युवा पुस्ता बोल्नलाई गाह्रो छैन र भनी पनि हाल्छन्- अनलाइनतिर भेटिने केटीहरू त सब र** भा*हरू मात्र हो भनेर ।

खाडी राष्ट्रमा त एउटा केटीसँग भेटघाट हुनु नै ‘माल’ फेला पार्नु हो । त्यो माललाई उम्कन नदिने तर्फ नै सबैको ध्यान हुन्छ । माल(केटी) र अरू पनि जतिसक्दो धेरै मालहरुलाई हात पारेर उनको अस्तित्वमाथि मजा लिनु नै पुरुषले आफ्नो बहादुरी ठान्छन् । साथीभाइसँगको रमाइलो गफगाफको विषय बनाइन्छ । बयान हुन थाल्छ मालसँग बिताएका क्षणहरुसँगै चलाखीका साथ जुक्ति लगाएर माललाई फसाइएको बहादुरीका कथाहरू । एउटी केटीको मात्र मोबाइल नम्बर भेटिनु पर्छ, खरबारीमा डढेलो लागे झैँ केटाहरुको मोबाइल मोबाइलमा त्यो नम्बर सेभ भइसकेको हुन्छ । अनि कल गरेर हुन्छ कि मिसकल गरेर हुन्छ उसलाई सताउन सुरु गरिन्छ । मीठामीठा गफहरुमा जाल बुन्न सुरु गरिन्छ । अनि कतिपय सफल पनि हुन्छन् एक दिन उनको अस्तित्व लुट्न, अनि कहलाइन्छ उनैलाई बिग्रिएकी केटी, र** भा* वा यस्तै यस्तै बदनामी उपमाहरु ।

यस्तै घटना मैले भोगेँ । एक दिन दुबईमा अ.ने.सा.स. को सामान्य भेला सकेपछि एक जना साथीसँग घुम्न नेपाली चोकतिर गएका थियौँ । बेलुकीतिर नेपाली पहिरनमा सजिएकी एउटा नेपाली नारीले दाइ भन्दै शिष्ट, सभ्य र मिठो बोली बोलिन् । हामी उनीसँग नजिक भयौँ । उनी पनि खुसी थिइन् परदेशमा आफ्नो देशका दाइहरुसितको भेटमा । निकै बेरको गफपछि ती बहिनीले चिसो खाँउ है दाइहरु भन्दै पेप्सी लिन दोकानमा गइन् । सफाई कम्पनीमा काम गर्ने रहिछिन् उनी । बस्ने उनी एक्ली नेपाली रे ।

यता मेरो साथीलाई भने साइत नै परेछ, “लौ साथी आज त राम्रो दिनमा पो घुम्न निस्किएछ । आज यसको मोबाइल नम्बर जसरी पनि नलिई हुन्न, केटी त चालु छे यार ।”

म त छानाबाट खसे जतिकै भएँ । कति चाँडै पत्ता लगाइहालेछ साथीले चालु केटी भनेर । मैले धेरै सम्झाउन खोजेँ साथीलाई- त्यस्तो सोच्नु गलत हो भनेर । तर साथीले उल्टै सिकाउन लाग्यो, भन्दैथियो “यो केटी डाइरेक्ट हामीसँग बोल्नु, नजिकिनु भनेको यसको चाला राम्रो होइन । हामी किन पछि पर्ने ? दुई दिनको जिन्दगी हो साथी, मरी लानु के छ ? चान्समा डान्स गर्नै पर्छ ।

अन्त्यमा मोबाइल नम्बर लिन भुलेनन् साथीले । अपरिचित बहिनीले पनि गार्‍हो नमानी सजिलै दिई नम्बर । मलाई भने त्यो निर्दोष चेलीको निर्दोष भावप्रति माया लागेर आयो र उनीप्रति आउने खतराप्रति सोचमग्न भएँ ।

फर्किने क्रममा साथी निकै खुसी थियो । किनकि उनको लागि स्पेशल माल (केटी) सिकार फेला परेको थियो । अझ सिकाउँदै थियो मलाई केटी पट्याउने आइडियाहरु । आज फेला पारेको माललाई कुनै पनि हालतमा उम्कन नदिने भन्दै थियो ऊ । साथी विवाहित थियो तर पनि उनलाई अलिकति पनि अप्ठेरोपनाको महसुस थिएन ।

बहिनीलाई सचेत गराउनको लागि मैले साथीसँग नम्बर लिन खोजेँ । तर राजी भएन साथी । बेलाबेला फोन गरेर सुनाउँथ्यो, मायाको नाटक गरेर लठ्ठै पारेको कहानीहरु भन्थ्यो । “साथी, चान्स मात्र मिलिरहेको छैन, नत्र अहिलेसम्म त मोज गरिसक्थें” भन्थ्यो । मैले जति भन्दा विभिन्न बहानाबाजीमा फोन लगाउन छाड्दैनथ्यो ।

पछि पनि अनेक बहानाबाजी लगाउँदै फँसाएर उनीसँग गरेको मस्तिहरु सुनाउँथ्यो- “ साथी केटी त लास्ट र** भा* रैछे । नेपालमा नै चालु केटी रैछे । भेट्नलाई त मैले बोलाउन नै नपर्ने, आफैले पो बोलाउँछे”।

एक दिन फेरि साथीले फोन गरेर भन्यो “साला त्यो र**ले त फोन नै उठाउँदैन यार । ल साथी पट्याएर मजा गर्ने हो भने नम्बर लिनुस् ।”

मैले नम्बर लिएर धेरै पल्ट कल गर्दा बल्ल एक पटक उठ्यो फोन । आवाज सुनियो “सरी, कल नगर्नुहोला”। मन अमिलो भयो ।

आज तीन साल पछाडि मैले लेखेको एउटा पुस्तक भेट्न पुगेछन् साथीले, र फोन लगाई हालेछन् मलाई । बधाई र शुभकामना सँगै उनले एउटा कुरा सोध्न भुलेनन्,“पहिलाको मालको के छ त खबर? मोबाइल नम्बर पास गर्नुस् न साथी । अब त भुली होली फेरि पट्याएर मोज गर्नु पर्‍यो,”

“मालहरुको खबर त तिमीहरू जस्तालाई पो थाहा हुन्छ। अबबाट कृपया फोन नगर्नू” मैले झर्किएर फोन काटेँ । उनले फेरि कल गरेर सरी मागे ।

नारीप्रतिको खराब सोचाई, बुझाइले एउटी निर्दोष बहिनीलाई लुट्न पुगे साथीले । आखिर पुरुष र* कि नारी र** ? र** र वे**को गाली किन नारीलाई ?

यो घटना त एउटा उदाहरण मात्र पो रहेछ । पछि बिस्तारै थाहा पाएँ यो विकृति र उत्ताउलोपना त धेरै व्यापक रहेछ नेपाली युवामाझ । म यो सोच्न बाध्य भएँ, पुरुषहरुको लागि केटी, पट्याउने माल नै हो त ? मनोरञ्जनको साधन मात्र हो नारी ? पक्कै होइन । नारी र पुरुष बिना यो संसार को सार नै छैन । एकले अर्कालाई सम्मान र विश्वास गर्न सकिएन भने मानवताको अर्थ नै कहाँ रह्यो र ? किन नारीलाई मात्र दोष दिन्छौं हामी ? पुरुषलाई र**खानामा आफ्नो जवानीको प्यास बुझाउन छुट छ, अझ नपुगेर भर्खर फक्रिन लागेको जवान तरुनीहरुको खोजी गर्दै बाटो छेक्न र ढुक्न खुला । नारीलाई कसले र*, वे**बनाएको हो भन्ने चेत पुरुषलाई आउनु पर्छ । सतित्व जोगाउन के नारीको एकल प्रयासले मात्र सम्भव छ र ? किन पुरुषले पतिव्रता नारी चाहन्छ ?

यसरी नै नारीको अस्तित्व लुटेर क्षणिक मनोरञ्जनको खोजी मात्र गर्ने भने नारी र पुरुषबीचको साँचो माया के भन्ने कुरा कसरी बुझ्न सकिन्छ र । साथीभाइ भेटघाट हुने बित्तिकै केटीको नै कुरा गरेर प्यास बुझाउँदै मनोरन्जन लिन पुरुषहरुले अलि लाज मानेदेखि समाज र संस्कार अलि सभ्य बन्ने थियो कि । नारीलाई खेलौना नै सम्झिँदै जाने हो भने एक दिन हाम्रा आमा, चेली बुहारीहरु सबै उही र** र वे** सूचिमा नपर्लान् ?

एउटा पुरुषले बहानाबाजी लगाएर घरमा श्रीमान् नभएको बेला कुनै नारीको अस्तित्व लुट्छ तर दोष त्यही नारीमा पर्छ । हो, पुरुषको खराब दृष्टिले असल नारीको अस्तित्वलाई माटोमा मिलाइरहेको हुन्छ । पुरुषले आफ्नो मति नसपार्ने हो भने नारीले पनि पुरुष वेश्यालय खोल्नु पर्‍यो र उसको पनि जवानीको प्यास त बुझाउन पर्‍यो नि । आजको जमाना लोग्ने र स्वास्नीबीच डिभोर्सको सङ्ख्या बढ्दो छ । यो त्यही नारी र पुरुष बिच विश्वास नभएर नै हो । विश्वास टुटाउने काम पुरुषबाट भएको छ । एउटा जवान नारीलाई देख्ने बितिकै र्‍याल काढ्न थाल्छन युवादेखि वृद्ध पुरुषसम्मले ।

जस्तै बिग्रिएकी केटी भए पनि र** वे** भनेर गाली निकाल्ने पुरुषमा यदि अलिकति पनि विवेक छ भने त्यो शब्द सुन्दा पनि मुटुमा दुख्नु पर्ने हो । नारीले सेक्सको अपिल गर्दै सडक र गल्ली गल्ली ढुक्दै, चहार्दै त हिडेको हुन्न नि । विधवा नारीहरूले पनि आफ्नो प्यासलाई दबाएर नै राखेका हुन्छन् । अर्काको श्रीमानमाथि हातपात त गरेका छैनन् नि । वैज्ञानिक आधार नै छ पुरुषलाई भन्दा नारीलाई बढी सेक्स चाहाना भएको कुरा, खै उनीहरूले त सहेरै बसेका छन् ।

नारीसँग सम्बन्ध गाँसौं तर नारीलाई हेर्ने खराब दृष्टिलाई हटाउँ, सबै नारीहरू असल र राम्रा हुन्छन् । विवेकशील समाज र सभ्य समाज बनाउनलाई आजका युवाहरूले सोच्न नै पर्ने बेला आएको छ । यदि राम्री केटीको नै खोजीमा हुनुहुन्छ भने सबै केटीहरू राम्रो नै पाउनु हुनेछ, सबैलाई चेली, आमा, भाउजू, साथी ठान्न सक्नु हुन्छ । यदि नराम्रो नै केटीको खोजीमा हुनुहुन्छ भने गङ्गा जस्ती पवित्र केटीलाई पनि तपाईँले खराब देख्नुहुनेछ र सबैसँग आफ्नो जवानीको मजा लुट्न सक्नु हुनेछ, बहानाबाजी लगाएर । त्यति बेला तपाईँको लागि सबै नारीहरू र** र वे** बन्नेछन्, सबै नारीहरू ।

त्यसैले आजैबाट राम्री केटीको खोजी गर्रौ, नारी र पुरुषबीचको विश्वासलाई तोड्ने काम नगरौं । निसंकोच तरुनीको गफ चुट्न र पछि लाग्न लाज सरम चाहिँ हुन जरुरी छ । पुरुष साथीहरू, आफ्नो संस्कार, सभ्यता र विवेक त गुमाउन भएन नि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =