कालेश्वर महादेवको मन्दिरमा गंगा दशहरा मेला शुरु, भारतीय दर्शनार्थीको भीड लाग्ने

कञ्चनपुर, जेठ ८ । कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा रहेको नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा आजदेखि पाँचदिने गंगा दशहरा मेला शुरु भएको छ । विशेष पूजासहित बिहानैदेखि शुरु भएको मेला जेठ १२ गतेसम्म आयोजना गरिने छ ।

नक्टाबाबा मन्दिरमा २०२८ सालदेखि विशेष पूजापाठसहित मेला आयोजना हुँदै आएको छ । मन्दिरका मुख्य पुजारीका रुपमा राना समुदायका व्यक्ति रहने गरेका छन् । तीन दशकदेखि मन्दिरका पुजारीका रुपमा भजोरा रानाले कार्य गर्दै आएका छन् ।

चारसय पचास वटा कक्ष राखिएको सो मेलमा कञ्चनपुर र कैलाली जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट गरी झण्डै पाँच लाख दर्शनार्थीको सहभागिता रहने मेला व्यवस्थापन समितिका अध्यक्ष कन्हैया रानाले बताए ।

मेलामा रु तीनदेखि रु चार करोडबराबरको कारोवार हुने उनले जानकारी दिए । “विगतमा रु तीन करोडभन्दा बढीको करोबार हुँदै आएको मेलामा यस वर्ष दर्शनार्थीको बढ्दो चापलाई हेर्दा कारोबार अझ बढ्ने अनुमान गरेका छौँ”, उनले भने ।

मेलामा मनोरञ्जनका लागि मारूती सर्कस, चर्खा पिङ, मंकी जम्प, ड्र्यागन ट्रेन, बच्चा पिङ, भूत बंगला, आइटम डान्स राखिएको छ ।

धार्मिक मेलामा चोरी डकैती तथा अपराधिक क्रियाकलाप रोकथामका लागि मन्दिर आसपासका क्षेत्रलाई मदिरा सेवन तथा बिक्री वितरणमा बन्देज लगाइएको छ ।

नक्टाबाबा मन्दिर कञ्चनपुर जिल्लाकै सबभन्दा पुरानो धार्मिकस्थल रहेको मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष विश्राम रानाले बताए ।

भकुण्डामा शिव भगवान्को मूर्ति परापूर्वकालमा उत्पन्न भएको र हरेक वर्ष जेठ शुक्ल नवमीका दिनदेखि त्यस मन्दिरमा पूजा आराधना गर्नाले चिताएको पूरा हुने जनविश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =