नेयमारको डेब्यु खेलमा पिएसजीको सहज जित

एजेन्सी – विश्व कीर्तिमानी ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको डेब्यु खेलमा पिएसजीले ३-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै पिएसजीको २ खेलमा ६ अंक भएको छ ।
पिएसजीले खेलमा निरन्तर आक्रमण बुनेपनि पहिलो हाफमा कुनै गोल गर्न सकेको थिएन । उसले ५२ औं मिनेटमा आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । घरेलु टोलीका डिफेन्डर जोर्डन इकोकोले बक्सभित्रबाट हतारमा गोलरक्षकलाई ब्याकपासदिएको बल गोलरक्षकले सम्हाल्न नसक्दा गोलमा परिणत भएको थियो ।

त्यसपछि थप आक्रामक बनेको पिएसजीले ६२ औं मिनेटमा अग्रता दोब्बर पार्यो । नेयमारको उत्कृष्ट थ्रु पासमा फरवार्ड एडिन्सन कभानीले गोल गर्दै टोलीलाई २-० ले अगाडी बढाए । ८२ औं मिनेटमा नेयमारले पनि गोल गर्दै पिएसजीका लागि डेब्युमै खाता खोले । उनले कभानीको पासमा सहजै गोल गर्दै पिएसजीको लागि पहिलो गोल गरेका थिए ।
प्रशिक्षक उनाइ एमेरीले नेयमारलाई बायाँ फरवार्डका रुपमा खेलाएपनि फरवार्ड लाइनमा घुम्ने स्वतन्त्रता दिएका थिए । नेयमारको मुभमेन्टले विपक्षी डिफेन्डरलाई निकै कठिन भएको थियो । पिएसजी गोल अन्तरका कारण अंक तालिकाको दोश्रो स्थानमा रहेको छ । पिएसजीसँगै अन्य ५ टोलीले पनि आफ्नो सुरुवाती २ खेल जितेका छन् ।








