भारतीय राष्ट्रियता सिकाउने सूर्योदय पाठशालामा युवा संघकाे ताला

“
जेठ २, दमक । भारतीय पाठ्यपुस्तक पढाएर राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने काम गरेकाे भन्दै युवा संघ झापाले दमकस्थित सूर्योदय पाठशालामा तालाबन्दी गरेकाे छ । अाज बुधबार युवा संघ झापाले विद्यालयमा तालावन्दी गरेको हाे ।
विदेशी शिक्षकहरु निकाल्नु पर्ने र राष्ट्रिय स्वाभिमानप्रति पुर्याएको आघात प्रति नेपाली जनतासँग माफी माग्नु पर्ने माग गर्दै युवा संघले विद्यालयमा तालाबन्दी गरेकाे बताएकाे छ । युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले विद्यालयकी प्रिन्सिपल सिस्टर म्यागडिलिङ सिंहको कक्ष र प्रशासन कक्षमा ताला लगाएकाे छ ।
संघले प्रिन्सिपल सिंहलाई राष्ट्रिय झण्डा दिंदै नेपालको स्वभिमानमा आक्रमण नगर्न चेतावनी दिएको छ । भण्डारीले ‘यी यो हो हाम्रो झण्डा’ भनेर प्रिन्सिपललाई बुझाएकाे बताएका छन् ।
युवा संघ झापा अध्यक्ष भण्डारीले नेपालमा रहेको विद्यालयले भारतीय पाठयपुस्तक पढाएर राष्ट्रपति, प्रधानमन्त्री लगायतका विषयहरू भारतकाे सिकाउँदा नेपाली राष्ट्रिय स्वभिमानमा आँच आएको बताए । ‘नेपालकाे शिक्षा नियमावलीले प्रष्ट गरेकाे ब्यवस्था माथि ठाडाे हस्तक्षेप भएकाे छ, जबसम्म सरकारले यस्ता विद्यालयलार्इ कारवाही गर्दैन तबसम्म तालाबन्दी रहिरहन्छ ।’ उनले भने ।
युवा संघका कार्यकर्ताहरू अाएर कार्यकक्षमा तालाबन्दी गरेपछि विद्यालयकी प्रिन्सिपल सिस्टर म्यागडिलिङ सिंहले अाफुहरूबाट गल्ती भएकाे भन्दै माफि मागिन् । उनले अागामी दिनमा पाठ्यक्रम सच्याएर अघि बढ्ने बताएकी छिन् ।
विद्यालयमा पढाइएको आधारभूत तहको पुस्तकमा जन्मभूमि भारत, हाम्रो राष्ट्रिय झण्डा भन्दै भारतको उल्लेख भएको र भारतमा पढाइ भए जसरी नै पुस्तक पढाई भर्इरहेकाे पार्इएकाे थियाे । यस विषयमा दमक नगरपालिकाले समेत विद्यालयलार्इ स्पष्टिकरण लिएको थियो । कक्षा १ को कन्भर सेसन र ३ को मेन्टल म्याथ पुस्तकमा भारतिय विषय उल्लेख भएको छ ।
जसमा ‘तिमी कुन देशमा बस्छौ’ भन्ने प्रश्नको संवादमा ‘म भारतमा बस्छु’ भन्ने उत्तर राखिएकाे छ । पाठ्यक्रममा नेपालकाे झण्डाका विषयमा पनि भारतकाे प्रयाेग गरिएकाे छ । ‘हाम्रो राष्ट्रिय झण्डा कुन हो ?’ भन्ने संवादमा ‘यो हाम्रो झण्डा हो’ भनेर भारतको झण्डाको फोटो देखाइएको छ । प्रधामन्त्रीको ठाउँमा नरेन्द्र मोदीको फोटो सामेल छ ।
विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने गरेको पाइएको हो। युवा संघका कार्यकर्ताहरूले विद्यालयले सार्वजनिक रूपमा माफि माग्नु पर्ने माग राखेका छन् । भने, सरकार समक्ष कारवाहीकाे माग गरेका छन् ।
यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सोमबार उक्त कदमको विरोध गर्दै विद्यालयलाई ज्ञापन पत्र बुझाएको थियो। उसले भारतीय पाठ्यपुस्तक पढाएर स्कुलले नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानमाथि ठाडो प्रहार गरेकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको थियाे ।
सन् १९८६ मा स्थापित यस विद्यालयमा भारतीय प्रिन्सिपल रहेकी छिन् । उनले अाफ्नाे इन्ट्रेसमा भारतीय पाठ्य पुस्तक भएकाे पाठ्यक्रम समावेश गरेकाे विद्यालयका एक शिक्षकले बताए । याे विद्यालय मिसनरी विद्यालय हाे । प्रिन्सिपलले विद्यालय हाता भित्र सञ्चारकर्मी र अभिभावकलार्इ समेत सहज रूपमा प्रवेश गर्न दिने गरेकी थिर्इनन् ।
“








