कोरोना भाइरस : सुदूरपश्चिममा जोखिम बढ्यो

चैत ८, धनगढी । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भारतमा पनि फैलिदै गएपछि त्यहाँ रहेका नेपालीहरु धमाधम नेपाल फर्किन थालेका छन् । रोजगारी तथा अध्ययनको सिलसिलामा भारतमा रहेका अधिकांश नेपालीहरु अहिले नेपाल फर्किन थालेपछि सीमा नाकामा ठूलो भिड लाग्न थालेको छ ।
नेपालबाट तुलनात्मक रुपमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट विशेषगरि रोजगारीको सिलसिलामा भारत जानेगर्छन् । सुदूरपश्चिम प्रदेशका लाखौं नेपालीहरु भारतका विभिन्न शहरमा कामको खोजीमा जाने गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अहिले भारतमा पनि फैलिनेक्रम बढ्दै गएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फिर्ता हुन थालेका हुन् । नेपालीहरु कोरोनाबाट बच्न आफ्नै देश फर्किन रहेका छन् भने अर्कोतर्फ जोखिम पनि त्यतिकै बढेको छ । नेपाल छिर्दा सीमा नाकामा ठूलो भिड लाग्न थालेको छ भने नेपाल छिरिसकेपछि कसरी सुरक्षित रहने भन्ने ज्ञानको अभाव र क्वारेन्टाइनको व्यवस्था नहुँदा जोखिम बढ्न थालेको हो ।
शनिबार मात्रै सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट मात्रै १० हजार भन्दा बढी मानिसहरु नेपाल भित्रिएका छन् । ठूलो संख्यामा एकैसाथ आएका नेपालीहरुलाई चेकजाँच गर्न नै अप्ठेरो अवस्था सृजना भएको थियो । भारतमा पनि कोरोना भित्रिएपछि नै नेपालीहरु केही दिन अघिदेखि नै स्वदेश फर्किनेक्रम सुरु भएको थियो ।

यसअघि दैनिक तीन–चारको दरमा स्वदेश भित्रिने नेपालीहरुको संख्या शनिबार भने दोब्बर भन्दा बढी पुगेको हो । कोरोनाको त्राससंगै स्वदेश फर्किने नेपालीहरुको संख्या बढेपछि जोखिम बढेको भन्दै क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने आवाज उठ्न थालेको छ ।
नाका बन्द गर्न सुझाव
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले कोरोना प्रभावित देशबाट एकैपटक यसरी ठूलो संख्यामा नेपालीहरु स्वदेश भित्रिदा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने जोखिम बढेको बताए । उनले नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले तत्काल नाका बन्द गर्नुपर्ने बताए । ‘नेपालमा कोरोना भित्रिनसक्ने भनेकै भारतबाट हो,’ उनले भने, ‘त्यसैमाथि अहिले ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किदा संक्रमणको जोखिम बढेको छ । सतर्कता अपनाउने हो भने सर्वप्रथम नाका बन्द गर्नुपर्छ ।’
भारतमा केही व्यक्तिको मृत्यु भइसकेको र संक्रमण पनि फैलिरहेको भन्दै भारतबाट तत्कालका लागि नेपाल भित्रिन नदिनुको विकल्प नरहेको उनको भनाई छ । डा. जोशीले सरकारले विदेशबाट आएका व्यक्तिलाई आफै ‘होम क्वारेन्टाइन’मा बस्न भनिसकेको भन्दै उनले स्वयम व्यक्तिले नै सचेत हुनुपर्ने बताए । ‘सरकारले जनतालाई आफ्नो घरमा ‘होम क्यारेन्टाइन’मा बस्न भनेको छ,’ उनले भने, ‘यसका लागि पनि कसरी बस्ने भन्नेबारे पनि जानकारी दिनुपर्ने देखिन्छ । यदि यसमा लापरबाही भयो भनेपनि भाइरस संक्रमणको जोखिम छ ।’
विदेशबाट आएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्छ भने कोरोनाको लक्षण देखिएका व्यक्तिलाई आइसोलेशनमा राख्ने गरिन्छ । डाक्टर जोशीले अस्पतालमा पनि अहिले सामान्य चेकजाँचलगायतका सेवालाई बन्द गरेर गम्भीर खाले विरामीलाई मात्रै हेर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता भएको औंल्याए । ‘अस्पतालमा पनि निकै भिडभाड छ, यसलाई कम गर्नेतर्फ ध्यान दिर्नुपर्छ,’ उनले भने, ‘जर्नल सेवाहरुलाई तत्कालका लागि बन्द गरेर गम्भीर खालका विरामीलाई मात्रै हेर्ने गर्यो भनेपनि मानिसको भिड कम हुनसक्छ ।’
बसपार्कमा पनि भिड
नेपालीहरु स्वदेश त्रिभिएसंगै सीमा नाकामा मात्रै नभई बसपार्कमा पनि मानिसहरुको भिड बडेको छ । भारतबाट आउने करिब ७० प्रतिशत बढी मानिसहरु सुदूरपश्चिमका पहाडी जिल्लामा जाने गर्छन् । यसले गर्दा अहिले पनि यहाँका बसपार्कहरुमा मानिसहरुको भिड लागेको छ । सामान्य अवस्थाको बेला भन्दा अहिले दशैं तिहारको झल्को दिनेगरि बसपार्कमा मानिसहरुको भिड देखिनथालेका छ ।
बसपार्कमा भिड बढेपछि सुदूरपश्चिमकै बढी भिड हुने स्थान अत्तरिया बसपार्कमा आइतबार नै हेल्थ डेस्क स्थापना गर्ने तयारी गरिएको छ । गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बसपार्कमा हेल्प डेस्क र साबुनपानीले हात धुने व्यवस्था गरिने बताऐ । सरकारले एक ठाउँमा २५ जना भन्दा बढी भिडभाड नगर्न, साबुन पानीले हात धुन र मास्क प्रयोग गर्न आग्रह गरेपनि यहाँका सार्वजनिक ठाउँमा स्वयम व्यक्तिहरुले नै खासै सजकता अपनाइएको पाइँदैन ।
सजकता अपनाउन मुख्यमन्त्रीको अपिल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबारनै कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी नाकाको निरीक्षण गरे । उनले आवतजावत गर्ने नेपालीहरुको अवस्थाबारे पनि जानकारी लिने काम गरेका छन् । त्यसक्रममा बोल्दै मुख्यमन्त्री भट्टले अत्यावश्यक कामबाहेक सीमा भारत आवतजावत नगर्न सुझाव दिए ।
सञ्चारकर्मीसँग कुरा राख्दै उनले भने, ‘अति जरुरी कामबाहेकको अवस्थामा आवतजावत नगरौं र कोरोनाको संवेदनशिलतालाई बुझेर सोहीअनुसारको सजगता अपनाउन आग्रह गर्दछु ।’








