नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह

माघ २८, काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गर्नुभएको छ । 

दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकाले लगानीको वातावरण बनेको बताएकाे हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रहनुभएका ढकालले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थिर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकाले नेपालका कृषि, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरिएकाे हाे । 

null

नेपाल सरकारले आगामी महीना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थुप्रै सम्भावना रहेको स्मरण गराउँदै उहाँले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्तालाई आमन्त्रण गरे । 

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानून निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकाले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रमा लगानी गरी पारस्परिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्तालाई उनले आग्रह गरे । 

उनले नेपाल सरकारद्वारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानूनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकको क्षमता अभिवृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवर्धनमा जोड दिए । 

दक्षिण एशियाका लगानीकर्ता एवं रोजगारदाताले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क देशमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा लगानीका क्षेत्रमा पनि साझा खालका अवसर र चुनौती रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताए । 

दक्षिण एसियाली क्षेत्रका सरकारहरुलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवर्धन लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामुहिक रुपमा सुझाव दिन या आग्रह गर्न सकिने उनले बताए । 

उनले यस रोजगारतादाहरुको साँझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवर्धन गर्न, आर्थिक हितका साझा मुद्दाहरुमा मिलेर काम गर्न, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रुपमा लाभ लिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग आग्रह गरे । 

दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ दिल्लीमा आजदेखि शुरु भएको यो आठौँ बैठक हो । यो बैठक तीन दिनसम्म चल्ने छ । यस बैठकमा नेपाल लगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ । 

सार्क देशका उद्योग वाणिज्य सङ्घ, महासङ्घ तथा चेम्बर अफ कमर्सलगायतमा आबद्ध रोजगारदाताहरु सम्मिलित यस मञ्चमार्फत रोजगारदाताले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल गर्ने कार्यक्रम रहेको नयाँदिल्लीबाट ढकालले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =