भोट फकाउन तरकारीको बीउ

केदार मगर, खोटाङ । आगामी मङ्सिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बनेका मदन राईले तरकारीको बीउ दिएर भोट मागेका छन् । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन् ।

तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणा पत्र समेत बाँड्ने गरेका छन् । बीउ र घोषणा पत्रसँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो ?’ शीर्षकको राईको जीवनी समेत राखिएको छ ।

झन्डै महिना दिनअघिदेखि चुनावी प्रचारमा लागेका राईले आचार संहिताविपरीत जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन् । जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ । कृषि क्षेत्रको विज्ञ राईले भने भोटका लागि नभई जिल्लावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन बीउ वितरण गर्न लगाएको प्रतिक्रिया दिए ।

साकेला गाउँपालिका–२ रतन्छा निवासी राईले वितरण गरेकाे तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मूला र करिब २०० को हाराहारीमा रायोको बीउ हुने गरेको छ । चुनावी अभियानमा जनताको घरमा जाँदा खाली हात जानुभन्दा थोरै भए पनि कोसेलीस्वरुप तरकारीको बीउ लिएर जाने गरिएको अभियानमा खटिएका सूर्यबहादुर राईले बताए ।

कृषि क्षेत्रमा विज्ञता हासिल गरेका राईले तरकारीको बीउ वितरण गर्न लगाउनु कुनै ठुलो विषय नभएको कतिपयको प्रतिक्रिया छ भने, कतिपयले सामाजिक सञ्जालबाटै चर्को विरोध गर्ने गरेका छन् । अहिले उम्मेदवार बनेका राईले जिल्लामा पहिलोपटक व्यावसायिक रूपमा तरकारी खेती गर्न सकिन्छ भन्ने ज्ञान दिएको जिल्लाका अगुवा कृषक बताउँछन् । भर्खरै नयाँ शक्ति नेपालको राजनीतिमा छिरेका राईलाई जिल्लावासीले उति महत्वका साथ भने हेरेका छैनन् । जिल्लाबाट प्रतिनिधिसभाका लागि १० जनाको उम्मेदवारी परे पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले)का विशाल भट्टराई र नेपाली काँग्रेसकातर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लावासीको अनुमान छ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईलाई नेकपा (माओवादी केन्द्र) लगायत साना कम्युनिस्ट दलले सघाउने देखिन्छ । काँग्रेसबाट उम्मेदवार बनेकी बजिमयलाई राप्रपाले सघाउने स्रोतले जनाएको छ । नयाँ शक्तिका उम्मेदवार राईलाई सघाउने राजनीतिक दल अहिलेसम्म देखिएको छैन । सरकारी सेवाबाट अवकाश प्राप्त राईलाई शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थी तथा केही कार्यकर्ताको साथ रहेको छ ।

प्रदेशसभाको दुवै क्षेत्रमा उम्मेदवारी दिएको नयाँ शक्ति नेपालका नेताले चार दिनपछि बुधवार उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं १ बाट उम्मेदवारी दिएका मोहन गुरुङ र क्षेत्र नं २ बाट उम्मेदवारी दिएका मणि राईले एकसाथै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =