दोस्रो सन्तान छोरी हुनेलाई महानगरको २५ हजार

पुस २३, विराटनगर । विराटनगर महानगरपालिकाले दोश्रो सन्तान पनि छोरी हुने चार दम्पत्तिका छोरीको नाममा २५, २५ हजार रुपैया बैंकमा वचत गरिदिएको छ । विराटनगर महानगरपालिकाको उपप्रमुख योजना अन्तर्गत नगर भित्रका पहिलो र दोश्रो सन्तान पनि छोरी भएमा दोश्रो सन्तान छोरीको पढाई खर्चका लागि उनको नाममा २५ हजार रुपैयाँ बैकमा रकम वचत गरिदिएको हो ।
महानगरपालिकाले ग्लोबल आइएमई बैकमा २५ हजार रुपैंया बचत गरिदिएको हो । कार्यक्रममा विराटनगर ५ की सुनिताकुमारी ठाकुर, सम्झना तामाङ, तारादेवी पोख्रेल र सेलीमाया मगरको दोश्रो सन्तान छोरीको नाममा आमा संरक्षक रहने गरी पढाई खर्चका लागि महानगरले बैकमा सो रकम वचत गरिदिएको छ ।
null
महानगरले दोश्रो सन्तान छोरीको नाममा पढाई खर्चका लागि उनीहरुको नाममा बैंकमा २५ हजार रुपैंया वचत गरिदिने कार्यक्रम यसै आर्थिक वर्षबाट समावेश गरेको थियो । महानगरले अघिल्लो आर्थिक बर्ष छोरी बचाउ अभियान चलाएकोमा यसै वर्षदेखि छोरी पढाउँ अभियान पनि त्यसै कार्यक्रममा समावेश गरेकोे छ ।
महानगरमा छोरी बचाउ अभियानलाई भने निरन्तरता दिदै आएको छ । यो बर्षपनि महानगरले निश्चित दायरा पूरा गर्ने २२ दम्पत्तिलाई नगद तीन हजारसहित आज सम्मान गरेको छ । महानगरले छोरी बचाउ अभियान अन्तर्गत दम्पतिलाई नगदसहित सम्मान गरेको हो ।
विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसुति गराउने आमाहरुलाई छोरी बचाउ अभियान अनुरुप महानगरले त्यस्ता दम्पत्तिलाई प्रोत्साहन गर्ने अभियान ल्याएको थियो । महानगरले छोरीप्रति सम्मान जनाउन पहिलो पल्ट यस्ता कार्यक्रम महानगर भित्र अभियानका रुपमा ल्याएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।
महानगरले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको, नियमित गर्भ जाँच गराउने, पहिलो सन्तान छोरी जन्माउने र अस्पतालमै सन्तान जन्माउने आमाहरुलाई छोरी बचाउ अभियान मार्फत त्यस्ता नगर क्षेत्रका आमाहरुलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम थालेको छ । जसका लागि त्यस्ता दम्पत्तिलाई निवेदन दिन महानगरले आग्रह गर्ने गरेको छ ।
सोही अनुरुप महानगरमा परेको निवेदनमा दम्पतिलाई नगद तीन हजार रुपैयाँसहित मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरेका हुन । कार्यक्रममा मेयर पराजुलीले तराईमा छोरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउ अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याइएको जानकारी दिए ।
गएको २३ साउन बसेको महानगरको नगरपरिषदले साउन यता नगर क्षेत्रका पहिलो सन्तान छोरी हुने र महानगरको मापदण्ड पूरा गरेका २ सय दम्पत्तिलाई छोरी बचाउँ अभियान मार्फत नगदसहित सम्मान गर्ने कार्यक्रम समावेश गरेको थियो ।








