‘ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ’

 

साउन १२, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । 

null

‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहेका छौँ । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौँ’, उनले भने । संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको बताए । 

यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने पनि स्पष्ट पारेका छन् । उनले भने, ‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’ 

आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि यादवले सुनाए । उनले भने, ‘पार्टीको आन्तरिक संगठन सवलीकरण र मजबुद पार्दै अघि बढ्नुपर्छ । नीति तथा सिद्धान्तलाई लागु गर्नुपर्छ ।’ 

यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाउँदै भने, ‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ । संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौं । लोकतन्त्र, जनताको जनजीवीकाको, शान्ति र सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहने छौँ ।’ 

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाललगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भैरहेको यादवको भनाई छ । यद्यपी मिडियामा हल्ला भएजस्तो समाजवादी पार्टीसँग एकताबारे औपचारिक वार्ता तथा सहमति नभएको उनले बताए । 

वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको यादवको आरोप छ । उनले भने, ‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहासिक अवसर थियो । तर, सरकारले विश्वास जगाउन सकेन । यो सरकार असफल छ । ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ ।’ 

सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारवाही गर्न नसकेको यादवको आरोप छ । उनले भने, ‘हत्यारा पत्ता लगाउनु त परै जाओस्, सरकारको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आइरहेका छन् । अहिले महिलाहरुको अस्मितामाथि खेलबाड भइरहेको छ । सरकार मुलुकमा शान्ति, अमनचयन कायम गर्न पूर्ण रुपमा असफल भइसकेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =