चितवनको मुग्लिङ्गमा नेपालकै दोस्रो नमुना आर्क ब्रिज सञ्चालनमा आउँदै

चितवन, २० फागुन । नारायणगढ – मुग्लिङ्ग सडक खण्ड अन्तर्गत गण्डकी प्रदेश प्रवेश गर्ने मुग्लिङ्गमा नेपालकै दोस्रो नमुना आर्क ब्रिज नेपाली नयाँ वर्षबाट सञ्चालनमा आउने भएको छ । चैत मसान्तसम्म संरचना निर्माण सक्ने र बैशाख १ गतेबाट सञ्चालन ल्याउने तयारी रहेको पुल महाशाखा प्रमुख दिपक भट्टराईले जानकारी दिए । यही फागुन महिनामा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल दुई महिना ढिलो गरी सञ्चालनमा ल्याउन लागिएको उनलेे बताए । उनका अनुसार अधिकांश संरचना तयार भइसकेको छ ।
अहिले ब्रिजमा ढलान भइरहेको छ । केही दिनभित्रै ढलान सकिने पुल महाशाखाले जनाएको छ । ढलान सकिएपछि रेलिङ हाल्ने,एप्रोच रोड बनाउने लगायतका काम सुरु गरिने छ । चैतसम्ममा ब्रिज तयार पार्ने र वैशाखमा उद्घाटन गरेर सञ्चालनमा ल्याने भट्टराईले जानकारी दिए । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसीसी मोटरेबल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमनमा सहज हुने अपेक्षा गरिएको छ ।
null
विश्व वैकको १२ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गर्न लागिएको हो । १६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ । २०७१ सालबाट निर्माण सुरु गरिएको थियो । चीनमा पढेर आएर नेपाली इन्जिनियरहरुले डिजाइन गरेको दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा ट्रायलका रुपमा निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि नेपाली इन्जिनियरहरुले पनि आर्क ब्रिज डिजाईन गरेर निर्माण गर्न सक्छन् भन्ने सावित हुने छ । आर्क ब्रिज सामान्य पुलभन्दा तुलनात्मक रुपमा बलियो र टिकाउ मानिन्छ भने लागत समेत कम लाग्छ ।
आर्क ब्रिजमा सवारीसाधनले उत्पन्न गर्ने कम्पन शून्य बराबर हुन्छ । यो पुल अफ्ठेरा ठाउँहरुमा सहजै निर्माण गर्न सकिने प्रकृतिको हुन्छ । पहाडका अफ्ठेरा ठाउँहरुमा निर्माण गर्न सामान्य पुलको तुलनामा सहज हुने भएकाले यो डिजाइन र प्रविधि नेपालमा उपयोगी मानिएको छ । अर्काे पुरानो पुल भत्किएर जीर्ण बनिसक्दा पनि टालटुल गरेर काम चलाउँदै आइएको छ ।








