काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।

ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन सबैमा आग्रह गरे ।

विभागमा अहिले प्राप्त अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर (अति भारी वर्षा) भएको छ । त्यसपछि सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर (अति भारी वर्षा) वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिए ।

उनका अनुसार काठमाडौँसहित अन्य केही जिल्लाहरूमा भने भारी वर्षा भएको छ । काठमाडौँको चन्द्रागिरि वर्षामापन केन्द्रमा गरिएको मापनअनुसार ९३ दशमलव छ मिलिमिटर वर्षा भइसकेको छ ।

त्यस्तै सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी पश्चिममा ६९ पाल्पामा ९८, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर (भारी वर्षा) भएको छ । अन्य अधिकांश जिल्लामा भने मध्यम वर्षा भएको विभागले जनाएको छ । अहिले काठमाडौँसहित उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लम्जुङ, खोटाङ बाग्लुङ, पर्वतलगायत जिल्लमा वर्षा जारी छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद् अर्यालले उल्लेख गरे । सोही कारणले आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा साथै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । मौसमविद् अर्यालले वर्षा गराउने मौसमी प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =