आत्मदाह गरेका गणेश नेपालीको पाँच दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । परिवारका सदस्य, आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो । उक्त घटनाले देशभर व्यापक चर्चा र चासो उत्पन्न गरेको छ भने आत्मदाहसम्म पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा विभिन्न तहमा बहस भइरहेको छ।

उनको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक पहल गर्न सरकारसंग आग्रह गरेका छन् ।

यस घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक प्रक्रिया सम्बन्धित निकायले अघि बढाइरहेको छ । गणेश नेपाली पछि मुलुकमा अन्य दुई आत्मदाहका घटना भइसकेका छन् । जसमा काठमाडौंको बुद्धनगरका आश्विन राउतको मृत्यु भइसकेको छ भने आत्मदाह प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।

शरीरको ८५ प्रतिशत भाग जलिसकेका मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =