भूकम्प पीडितका लागि वितरण गरिएको ट्याक्सी उपत्यकामा संचालन नहुने

काठमाडौं, असार ८ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले  भूकम्प पीडितका लागि वितरण गरिएको ट्याक्सी उपत्यकामा संचालन नहुने बताएका छन् । व्यवस्थापिका संसदको उपभोक्ता हित संरक्षण उप समितिको बैठकमा बोल्दै मेयर शाक्यले  भूकम्प पीडितका लागि वितरण गर्न लागिएको १ हजार ५ सय ट्याक्सीले शहरको सवारी चापलाई झन् बढाउने भन्दै उपत्यकामा थप ट्याक्सी संचालन नहुने बताउनु भयो । मंगलबार महानरपालिकाको बोर्ड बैठकले राजधानीको बढ्दो ट्राफिक जामलाई तत्काल व्यवस्थापन नगरेसम्म  भूकम्प पीडितलाई दिने भनिएको ट्याक्सी उपत्यका भित्र संचालनमा रोक लगाउन सरकारसँग माग गरेको थियो ।

बैठकमा बोल्दै मेयर शाक्यले काठमाडौका साना सवारी हटाउँदै ठूला सार्वजनिक सवारी साधन चलाउने अभियानमा लागेका बेला एकै पटक १ हजार ५ सय ट्याक्सी थपिँदा शहरको ट्राफिक ब्यवस्थापन जटिल बन्ने बताउनु भएको हो ।बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्गमार लामाले पनि साना सवारी साधनको ब्यवस्थापन गरेर मात्र थप कार्यक्रम सुरु गर्नुपर्ने बताउनु भयो । साना सवारीको आयातलाई पूर्णरुपमा रोक लगाई ठूला सार्वजनिक सवारी साधनहरुलाई भरपर्दो बनाउन सकेमात्र सवारी चापलाई कम गराउन सकिने प्रमुख लामाको भनार्इ रहेको थियो । सरकारले ठूला सार्वजनिक सवारी साधन नचलाउने र व्यवसायीको सिन्डिकेट नतोड्ने हो भने उपत्यकाको सवारी चाप कम हुन नसक्ने उनको भनाई रहेको थियो ।

उप समितिले सार्वजनिक सवारी र सडकको अवस्थाबारे छलफल गर्न भौतिक योजना तथा यातायात मन्त्रालयका सचिब, सडक विभागका महानिर्देशक लगायतका सरकारी निकायका उच्च पदस्थ कर्मचारीहरुलाई बोलाएको थियो ।यातायात व्यवस्था विभागले भने हाल ट्याक्सी नम्बर वितरण कार्य गरिरहेको छ । समय ढल्केपछि शाक्यले निर्देशन दिएकाले वितरण रोक्न नसकिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =