इलाममा सुरू भयाे डा. केसीकाे १६ औं अनशन

 

पुस २५, काठमाडौँ । डा. गोविन्द केसीले इलाम पुगेर बुधबारदेखि अनशन सुरु गरेका छन् । 

बारम्बार चिकित्सा शिक्षा सुधारको माग गर्दै आइरहेका डा. गोविन्द केसीले आफ्नो १५ औं अनशनको माग पुरा नभएको तथा सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै १६ औं अनशन सुरु गरेका हुन् । 

null

६ बुँदे मागसहित अनशन बसेका डा. केसीले १५ औं सत्याग्रह टुंग्याउने क्रममा भएको संशोधन सम्झौता सरकारले निर्णायक घडिमा आएर माफियाको स्वार्थमा काम गरेको आरोप लगाए । 

 

‘सरकार र सत्तारुढ पार्टीका नेताहरु तीन करोड जनताको स्वास्थ्यको पक्षमा नभई मुट्ठीभर माफियाहरुको स्वार्थमा काम गरेका छन् । यस अघि कुनै पनि हालतमा कार्यान्वयन गर्ने भनेर हामीसँग सम्झौता गरेका प्रधानमन्त्री समेत अहिले त्यस्ता निहित स्वार्थका अगाडि निरीह हुँदै आफ्नो प्रतिबद्धताबाट पछि हटेका छन्’, डा. केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उनले सरकारले चिकित्सा शिक्षा विधेयकमाथि गरेको निर्णयले अबको दशौं वर्षपछि पनि दुरदराजमा नागरिकहरु सिटामोल र जीवन जल नपाएर छट्पटाउने अवस्था कायमै रहने बताए । 

डा. केसीले देशमा चलिरहेको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने बताए । ‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण हो’, उनले भने । 

१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् । 

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् । 

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् । 

४) निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् । 

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् । 

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडाैँ विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गरियाेस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =