सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीमा उच्च रक्तचाप

काठमाडौं, चैत ९ । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा ‘प्राइमरी हाइपरटेन्सन’ अर्थात उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले जानकारी दिनुभयो ।

कामको चाप र तनावले समस्या भएको हुन सक्ने उहाँले बताउनुभयो। चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाउनुभएको थियो ।

सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् ।उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरी बताउनुहुन्छ ।

वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले सिंहदरबारका कर्मचारीको खानपान र जीवनशैली सही नभएका कारण रोगी भएको बताउनुभएको छ ।

२१ दिनमा १६ जना इमर्जेन्सी भर्ना

सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताउनुभयो । कतिपय काम गर्दागर्दै ढलेका उदाहरण पनि छन् ।

१६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनीहरूमा उच्च रक्तचाप र ग्यास्ट्रिकको समस्या देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *