भोलि नारायणगढमा नेपथ्यकाे लाइभ कन्सर्ट

भरतपुर ३० पुस । माघ संक्रान्तिको दिन भोलि नारायण नदी किनारमा नेपथ्य लाइभ कन्सर्ट हुँदैछ । फरक र मौलिक स्वाद लिएर साङ्गीतिक क्षेत्रमा चर्चित रहेको ‘नेपथ्य ब्यान्डले भोलि साँझ ६ बजेबाट करिब ३ घण्टा नारायणगढ तताउनेछ ।
दाताज् इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको यो कार्यक्रममा चितवनलगायत आसपासका जिल्लाबाट सहभागी हुने अपेक्षा गरिएको छ । दाताज इभेन्ट म्यानेजमेन्टका अध्यक्ष दाताराम घिमिरेले चितवन र आसपास जिल्लामा कार्यक्रम गरेर विशेष छुट तथा अफरमा टिकट बिक्री गरिएको बताए । उनका अनुसार प्रचारको लागि चितवन र नवलपरासीका कलेज, स्कुल र मुख्य चोक–चोकमा दर्जनौँ कार्यक्रम गरिएका छन् ।

नेपथ्यले २५ औँ वर्षगाँठ मनाइरहेको छ । यही अवसरमा मुलुकका विभिन्न सहरमा गर्न लागेको कार्यक्रमअन्तर्गत नारायणगढमा भोलि माघ १ गते कार्यक्रम गर्न लागिएको हो । ‘चार वर्षदेखि हामीले धेरै साङ्गीतिक कार्यक्रम गरेका छौँ’, घिमिरेले भने, ‘यसपालि ज्यादै ठुलो क्राउड’का बिचमा नेपथ्यलाई ल्याउँदै छौँ, यो ठुलो कार्यक्रम हो ।’ नेपाली लोक, आधुनिक क्षेत्रमा सर्वोत्कृष्ट व्याण्डको रूपमा स्थापित नेपथ्यलाई चितवन ल्याउनु ठुलो उपलब्धि भएको उनले बताए ।
नेपथ्य व्याण्डका संस्थापक तथा मुख्य गायक अमृत गुरुङसहितको टोली सो कार्यक्रममा सहभागी हुनेछ । नेपथ्यका ‘रेसम’, ‘छेक्यो–छेक्यो देउराली डाँडा’, ‘तालको पानी’ ‘हिमाल चुचुरो’ जस्ता गीत चर्चित छन् ।








