तेस्रो राष्ट्रिय सुरक्षा तालीम शुरू

काठमाडौँ, फागुन २० । राष्ट्रिय सुरक्षाबारे तेस्रो उच्चस्तरीय दश दिने तालीम शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाप कलेजमा शुरू भएको छ ।

तालीममा जङ्गी तथा निजामती सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृतसहित २४ जनाको सहभागिता रहेको छ । तालीममा राष्ट्रिय सुरक्षाबारे अवधारणा, राष्ट्रिय सुरक्षा नीति, नेपालको राष्ट्रिय सुरक्षा र आर्थिक दृष्टिकोण, अन्तर्राष्ट्रिय चुनौतीलगायतका विषयमा प्रशिक्षण दिइने छ ।

सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले तालीमले राष्ट्रिय सुरक्षा हेर्ने संयन्त्रलाई सहकार्यका लागि प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । तालीमबाट राष्ट्र हित र विकास कार्यमा विभिन्न मन्त्रालय तथा विभागबीच आपसी सहयोग र सहकार्यमा मद्दत पुग्ने पनि उनले बताए ।

प्रधानसेनापति क्षत्रीले परम्परागत रुपमा राष्ट्रिय सुरक्षालाई सैनिक शक्तिसँग जोडेर हेर्ने गरिएकोमा हाल आएर यसको दायरा बृहत् हुन गई मानव सुरक्षा, खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, वातावरण सुरक्षाजस्ता विषयलाई समेटिएको उल्लेख गरे ।

रक्षा मन्त्रालयका सचिव विनोद केसीले तेस्रो चरणअन्तर्गत शुरू गरिएको तालीममा सुरक्षाबारे राज्यको प्रक्रिया, समस्या, सामना र आन्तरिक सुरक्षाबारे गृह मन्त्रालयको भूमिकाबारे छलफल गरिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *