मदार मेलामा किन लगाइयो सिसी टिभी क्यामेरा ?

नवलपरासी, माघ २८ । नवलपरासीको ऐतिहासिक एवं धार्मिक मदारबाबाको मुख्य स्थलमा चढाईने भेटि रकम सिसी टिभी क्यामेराको निगरानीमा राखिएको छ । विगतका वर्षहरुमा मदारबाबामा संकलन हुने भेटीको रकम हिनामिना हुने, भ्रष्टाचार हुने गरेको भनी जन गुनासो तथा संचार माध्यममा आउने गरेकोले यसपटक ईतिहासमै पहिलो पटक सिसी टिभी क्यामेरा र प्रशासनको निगरानीमा भेटी रकम सुरिक्षत गर्ने कार्य भैरहेको बताइएको छ ।
गत वर्षका अध्यक्ष जमालुदिन अन्सारीले आफ्नो कार्यकालमा ४५ लाख भन्दा बढि रकमको भ्रष्टाचार गरेको आरोप लागेको छ ।

दुई सातासम्म चल्ने मदारबाबा मेलामा, बाबाको मुख्य धार्मिक स्थलमा गत वर्ष १७ लाख ४४ हजार भेटी रकम संकलन भएको थियो तर यस पटक गठित मेला समितिले मेला १ दिन बाँकी रहदै १७ लाख ५९ हजार २ रुपियाँ संकलन गरिसकेको कुतुबुल मदार शाह दरगाह कमेटी महलबारीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले जानकारी दिए । उनले नवगठित मेला समितिले ईमान्दारितापुर्वक भटी संकलन गर्दै आएको दाबी समेत गरेका छन् ।
उनले भने ईतिहासमै पहिलो पटक मदारबाबाको मुख्य धार्मिक स्थलमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । ‘पहिला सिसी टिभी क्यामेरा र प्रशासनको निगरानी नराखीकन पूर्व समितिका पदाधिकारीहरुले मेलामा संकलित भेटीका रकमहरु हिनामिना गरि अपचलन गर्दै आएका थिए ।’ अनसारीले भने ‘तर यसपटक भेटीको रकम सुरक्षित र पारदर्शी बनाउन सिसी टिभी क्यामेरा जडानका साथै प्रशासनको निगरानी पनि बढाइएको छ ।’
माघ २२ गते देखि संचालनमा आएको यस मदारबाबा मेलाको ५ दिनमा करिब २ लाख दर्शकले मेला अवलोकन गरिसेकेको मेला समितिका सचिव अजमुद्दिन मिँयाले बताए ।
वर्षेनी नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा लाग्दै आएको मदारबाबा मेलामा नेपाल भारतको विभिन्न क्षेत्रबाट लाखौं पर्यटक तथा श्रद्धालुहरु आउने गरेका छन् । मेलामा नेपाल भन्दा बढि भारतीय र हिन्दु समुदायका श्रद्धालुको भिडभाड देख्न पाईन्छ । यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दु र मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ ।
मदारबाबाको प्रमुख धार्मिक स्थल महलबारी बजारबाट करिब साँढे नौ किलोमिटर पहाड माथि मदारिया डाँडामा अवस्थित छ जहाँ भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र दुखियाको दुःख हरन हुने धार्मिक विश्वास रहि आएको पिठाधिस अमिरुल्लाह अंसारीले बताए ।
मदारबाबाको वास्तविक नाम हजरत हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । उनी सिरिया देशको हबल सहरमा जन्मेका थिए । बाबा ईस्लाम धर्मको तबलिगका लागि सिरियाबाट साउदी अरब हुदै भारत र नेपाल आई पुगेका थिए । ५ सय वर्ष, ९६ महिना र ६ दिनसम्म जिवित रहेका मदारबाबा त्यतीबेला सिरियापछि भारतको गुजरात र मकनपुर सहरमा बस्दै सिद्धी प्राप्त गर्न नेपालको मदारिया पहाडमा आईपुगे । मदारबाबा महलबारीको उक्त मदारिया पहाडी डाँडामा ४० दिनसम्म तपस्या गरि सिद्धी प्राप्त गरेपछि सो ठाउँले महत्व पाएको जनविश्वास छ ।
मदारबाबासँग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका तिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि दर्शनार्थीहरु ४ देखि ५ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफ्नो दुख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।
मदारबाबाको मेला महलबारी बजारमै लाग्ने गरेपनि श्रद्धालु भक्तजनहरु डाँडामा अवस्थित बाबाको मुख्य स्थलमा पनि पुग्ने गरेका छन् । मदारबाबा मेलामा आउने श्रद्धालुहरुका लागि मेला समितिले तल बास स्थान, भोजनालय, शौचालय, खानेपानी, शान्ती सुरक्षाको व्यवस्था मिलाएको छ तर माथि मदारिया पहाडी डाँडामा अवस्थित बाबाको मुख्य धार्मिक स्थलमा खानेपानी, शौचालय, पहाड चढ्नका लागि व्यबस्थित बाटो एवं सिढी, बास स्थान लगायतको समस्या भने उस्तै छ । वर्षेनी यस्ता समस्या तर्फ सरकारको ध्यान पुगोस् भन्ने श्रद्धालुहरुको आग्रह छ ।








