मंसिर १० र २१ को निर्वाचन कम्युनिष्ट र लोकतन्त्र पक्षधर बीचको जनमत संग्रह : प्रधानमन्त्री


कात्तिक २६, सोलुखुम्बु । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आगामि मंसिर १० र २१ गतेको निर्वाचन कम्युनिष्ट शासन रोज्ने वा लोकतन्त्र रोज्ने भन्ने जनमत संग्रह भएको बताएका छन् । आइतबार सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट नेताहरुले भने जस्तो शासन आए हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार समेत गुम्ने बताए ।
उनले लोकतन्त्रमा मात्र जनता मालिक हुने बताउँदै बोल्न लेख्न पाउने र डरत्रासको शासन विनाको शासन मात्र कांग्रेसको लक्ष्य भएको बताए । देउवाले कम्युनिष्टहरु धर्म र सस्कृति बिरोधी रहेको भन्दै लोकतन्त्र पक्षधरहरुलाई भोट दिन आह्वान गरे ।
उनले आसन्न निर्वाचनको चर्चा गर्दै नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिष्टहरुले संविधानको प्रस्तावनादेखि भावना प्रतिकुलका अभिव्यक्ति दिएकोले उनीहरुको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुने पनि बताए ।
प्रधानमन्त्री देउवाले आफु सरकार प्रमुख रहेका बेला शेर्पा समुदायकी पासाङल्हमु शेर्पालाई विभुति बनाएर शेर्पा समुदाय प्रति कदर गरेको धारणा राखे । उनले नेपालको ऐतिहासिक आदिबासि शेर्पा समुदायको नेपाली काँग्रेसले सधैँ कदर गर्ने बताए ।शेर्पा समुदायबाट पासाङल्हमुलाई आफै सरकार प्रमुख हुँदा राष्ट्रिय विभिुति घोषणा गरि शेर्पा समुदायको सम्मान गरेको बताए ।
सबै जाती र भाषाभाषीको जगेर्ना र लोकतन्त्रको रक्षा गर्ने पाटी नेपाली काँग्रेस मात्र रहेको बताउँदै देउवाले काँग्रेसको विजय भए लोकतन्त्रको रक्षा फाल्गुनन्दको तपोभुमीमा किराँत साँस्कृतिक तथा अध्ययन केन्द्र तथा विश्वविद्यालय खोल्ने आश्वासन दिए ।








