उत्साहपुर्ण मतदान र अबको अपेक्षा

प्रतिनिधि र प्रदेश सभाको पहिलो चरण अन्तर्गतको ३२ जिल्लामा मतदान सम्पन्न भएको छ । पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

मंसिर १० गतेको पहिलो चरणको मतदान विभिन्न अवरोधका बाबजुद ब्यापक जनसहभागितामा मतदान सम्पन्न भयो । छिटपुट घटना बाहेक पहिलो चरणको निर्वाचन उत्साहपुर्ण रुपमा सम्पन्न भएको छ । यो निर्वाचनको मुल पक्ष भनेको जनता वा मतदातामा देखिएको उत्साह नै हो ।

       विद्यानाथ अधिकारी

कैयौं दिन देखि निर्वाचन विथोल्नेहरु सक्रिय भएर आतंकको वातावरण सृजना गर्न खोजेपनि मतदाता कत्तिपनि भयभित भएको देखिएन । निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयन सँगै मुलुकको समग्र आर्थिक विकासका लागि जनतामा जुन तत्परता देखिएको छ, त्यसले अबको परिवर्तनलाई कसैले रोक्न सक्दैन भन्ने पुष्टि हुन्छ । हिंसात्मक घटना गराएर जनतालाई तर्साउन सकिंदैन भन्ने कुरा यो निर्वाचनले प्रष्ट पारेको छ ।

आगामी २१ गतेको दोस्रो चरणको निर्वाचन पनि यसरी नै उत्साहपुर्ण रुपमा सम्पन्न हुनेनै छ । अब चुनाव हुन बाँकी क्षेत्रका जनता पनि मंसिर २१ गतेको तिब्र प्रतिक्षामा छन् ।

छिटपुट घटना तर ब्यापक सहभागिता
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनका क्रममा देशका विभिन्न भागमा बम विष्फोट गराइएको थियो भने निर्वाचन विरोधी समूहले कैयौं ठाउँमा राखेका विष्फोटक पदार्थ राखेको थियो ।

धादिङ धुनिबेँसी नगरपालिका–५ स्थित शारदा मावि नजिक, बझाङ जयपृथ्वी नगरपालिका–११ भुपुर, जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–७ गुनाभिर, नुवाकोट, ककनी गाउँपालिका–२ काउले, दार्चुला महाकाली नगरपालिका–४ खलंगा, बुटवल उपमहानगरपालिका–१० रोल्पा, त्रिवेणी गाउँपालिका–७ दोलखा, भीमसेन नगरपालिका–३ र दोलखाकै भीमेश्वर नगरपालिका–६ कपिलवस्तु, वाणगंगा नगरपालिका–११ बागलुङ, वडिगाड गाउँपालिका–७ डाँडागाउँ, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङस्थित सरस्वती मावि लगायतका स्थानमा भेटिएको बमलाई सुरक्षाकर्मीले निस्क्रिय पारेका थिए ।

यस्तै, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका–११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगो लगाइएको थियो । ति मतदान केन्द्रमाआगलागी भएका कारणबाट मतदान कार्य स्थगित भए । त्यहाँ दोस्रो चरणको निर्वाचन सँगै मंसिर २१ गते मतदान हुनेछ । आईतबार पहिलो चरणमा ३२ जिल्लामा मतदान भए पनि मतगणना भने २१ मंसिर साँझ ५ बजेबाट मात्रै सुरु हुनेछ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ ।

अबको अपेक्षा
पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा मतदान गर्ने स्थानका जनता मंसिर २१ गतेको ब्यग्र प्रतिक्षामा छन् । प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भएपछि नै देशले राजनीतिक संक्रमण पुरा गर्र्नेछ । निर्वाचन पछि संविधानको पुर्ण कार्यान्वयन हुनेछ भने लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेछ ।

जनताले अहिलेको निर्वाचनलाई पहिलेका निर्वाचन जस्तै सरकार निर्माण र सरकार परिवर्तन गर्ने निर्वाचनका रुपमा लिएका छैनन् । आर्थिक विकास, समृद्धि, स्वदेशमै रोजगारी सृजना तथा देशको सार्वभौमिकताको संरक्षण जनताको चाहना हो । त्यसका लागि स्थिर र जनउत्तरदायी सरकार आवश्यक छ ।

जनताको यही चाहना बुझेर नै राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणा पत्र र एजेन्डामा आर्थिक समृद्धिलाई प्राथमिकता दिएका छन् । तर पनि राजनीतिक दलहरुप्रति जनताले पुर्ण विश्वास गर्न भने सकेका छैनन् । आगामी दिनमा दलहरुले देश र जनताप्रति कसरी प्रस्तुत हुनेछन्, त्यसले नै लोकतन्त्र सँगै राष्ट्रको भविष्य पनि निर्धारण हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =