प्रधानमन्त्रीको राजिनामा मागेर होहल्ला नगर्नुस : खाँड

“
मंसिर २७ , काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले प्रधानमन्त्रीको राजीनामा मागेर होहल्ला नगर्न वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् । उनले राष्ट्रिय सभा गठन भएपछि मात्र प्रधानमन्त्रीले राजिनामा दिने स्पष्ट पारेका छन् ।
सरकार छाड्ने तयारीमा रहेको नेपाली कांग्रेसले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व भएको बताएको हाे ।
सरकारले भोलिको मन्त्रिपरिषद् बैठकबाट प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने तयारी गरेको छ । तर, नयाँ सरकार गठनको तयारीमा रहेका एमाले र माओवादीका नेताहरुले यसमा असन्तुष्टि जनाएका छन् ।
कांग्रेस नेता खाँडले भने संवैधानिक व्यवस्था अनुसार सरकारले काम गर्नु पर्ने बताउँछन् । ‘अस्थायी मुकाम तोक्न गृहकार्य भइरहेको छ’, खाँडले ‘समानुपातिकको नाम बुझाउन साथ मुख्यमन्त्रीको सपथ गराउनुपर्छ । यसका लागि प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व हो ।’
राष्ट्रिय सभा गठन नभएसम्म केन्द्रमा सरकार बन्न नसक्ने दाबी गर्दै उनले प्रदेश प्रमुख तोकिने संकेत गरे । उनले भने, ‘यदि नयाँ बन्ने सरकारलाई उपयुक्त लागेन भने नयाँ निर्णय गर्न सक्छ । तर, यो सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवा निकट मानिने नेता खाँडले पाँच वर्षका लागि म्याण्डेट लिएर आएको वाम गठबन्धनका नेताहरुले अहिले नै राजीनामा माग गर्दै होहल्ला गर्दै असहिष्णु व्यवहार नदेखाउन आग्रह गरे । नेता खाँडले भने, ‘तर, राष्ट्रिय सभा गठन भएपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्नुपर्छ र गर्नुहुन्छ ।’
“








