त्रिवि सेवा आयोग तोडफोड गर्ने ५ जना पक्राउ

बैशाख २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोग कार्यालय तोडफोड गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
खुला प्रतिस्पर्धा परीक्षामा नातेदारलाई पास गरेको भन्दै तोडफोड गरी आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाउने ५ जना पक्राउ परेका हुन् ।
null
पक्राउ पर्नेमा नेविसंघ र नयाँ शक्ति आबद्ध विद्यार्थी रहेका छन् । उनीहरुले आयोगको झ्यालका सिसा समेत फुटाएको प्रहरीले जनाएको छ ।
सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा आयोग अध्यक्ष, त्रिविकै उच्च अधिकारी, विद्यार्थी संगठनका नेता र पार्टीका नेताका नातेदारहरुको नाम निस्किएपछि अन्यले विरोध जनाएका हुन् । नतिजा वैशाख १३ मा सार्वजनिक भएको थियो।
लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी समेत परेको थियो ।
त्रिविका कर्मचारी संघ/संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायतत्रिविकै विभिन्न निकायमा पनि उजुरी दिएका छन् ।
स्रोतका अनुसार त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरू परीक्षामा सफल भएका छन् ।








