आजकल मेहनत नै गर्न चाहदैनन् गायक बन्छु भन्नेहरु : गुरुदेव कामत

असीम तिमल्सीना

गुरुदेव कामत नेपाली सङ्गीत क्षेत्रमा एउटा सम्मानित नाम हो | उहाँ निकै लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा गायक, सङ्गीतकार एवम् सङ्गीत गुरुको रूपमा परिचित हुनुहुन्छ | हामीले उहाँसँग सङ्गीत क्षेत्र एवम् शास्त्रीय सङ्गीतको महत्वका विषयमा कुराकानी गरेका थियौँ | त्यसै गरी हामीले सङ्गीतको विद्यार्थीका लागि केही सुझाव समेत मागेका थियौ | प्रस्तुत छ यही कुराकानी :

  • सङ्गीतलाई कसरी बुझ्नु हुन्छ ?

सङ्गीत एउटा पूजा हो | यो एउटा तपस्या हो | सङ्गीत मानव जातीको अभिन्न अङ्ग हो | जीवनको सुरुवात पनि सङ्गीतबाटै हुन्छ र अन्त्य पनि सङ्गीतबाटै हुन्छ | जन्मदिनमा गीत गाएरै उत्सव मनाइन्छ र आर्यघाटमा पनि शंख बजाउदै हामी व्यक्तिको अन्त्यस्टी गर्छौ | सङ्गीत कहिल्यै नरित्तिने र कहिले पनि नसिद्धिने एउटा अमूल्य र अमर रस हो | सङ्गीत मानिसको  संस्कार पनि हो | विवाहमै पनि के सङ्गीत बिना विवाह पूर्ण हुन्छ र ? यही नै सङ्गीत हो |

  • नारायण गोपाल, गोपाल योञ्जनको युग देखी अहिलेसम्म आईपुग्दा नेपाली सङ्गीतको अवस्था कस्तो देख्नुहुन्छ ?

 नेपाली सङ्गीत उसबेला र अहिले निकै फरक छ | त्यस बेला महिनौं साधाना गरेर बल्ल बल्ल एउटा गीत तयार पारीन्थ्यो | त्यस बेला फेरी सङ्गीतकार एवम् रचनाकार पनि निकै कम हुने हुनाले उत्कृष्ट एवम् मिठा सङ्गीत सुन्न पाइन्थ्यो | तर अहिले प्रविधिले गर्दा नेपाली सङ्गीतमा केही गलत संस्कारको पनि विकास भएको छ | सुर र ताललाई ख्याल गर्दै नगरी गीत गाउँछन् | हुन त छन् नि, केही राम्रा गायक पनि छन् | सुर र ताललाई बुझेका गायक छन् | साधानामै रमाउने पनि छन् | तिनको उचित सदुपयोग गर्न सक्नुपर्छ हामीले | यो “जेनेरेसन” मा पनि यत्तिको शास्त्रीय सङ्गीतलाई माया गर्ने साधक पाउनु ठुलो कुरो हो | प्राविधिक कुराले केही सकारात्मक परिवर्तन पनि ल्याएको छ |

  • तर प्राविधिक सहजताले सङ्गीतमा गलत नजिर पनि बसेको छ नि ? अपशब्द प्रयोग गरिएको गीतका साथै सुर र तालको धज्जी उडाएको गीत प्रशस्तै छ नि बजारमा ?

छ अवश्य पनि | तर कतिन्जेल टिक्छन् र यस्ता गायकहरु | “कम्प्युटर” ले मिलाएको आवाज मार्फत हिट हुन खोज्नेहरुको भविष्य छैन नेपाली सङ्गीत क्षेत्रमा | यस्ताले बेलैमा अर्को क्षेत्र रोजे हुन्छ | नत्र सङ्गीतका असल श्रोताले माफ गर्ने छैनन् |

  • किन यस्तो परीपाटी देखिएको होला त ? कहाँ भयो कमजोरी ?

खासमा भन्नुपर्दा थोरै गाएर धेरै हिट हुन खोज्ने पारीपाटी नै यसप्रकारको गल्तीको दोषी हो | आजकल मेहनत नै गर्न चाहदैनन् गायक बन्छु भन्नेहरु | फेरी पहिला रेडियो नेपाल मात्र थियो, सबैलाई नियन्त्रणमा राखेको थियो | एक हिसाबले भन्नु पर्दा रेडियो नेपालले अभिभावकको भूमिका निर्वाह गरेको थियो | तर अहिले हजारौँ छन् रेकोर्डिङ्ग स्टुडियोहरु र केही पैसाको लागि जसले पनि जहिले पनि गाउँन पाउने नजिर बस्यो | यही नै मुख्य कारण हो भन्ने मलाई लाज्छ |

  • अलि फरक प्रसँगमा जाऔ हामी, शास्त्रीय सङ्गीतको सिकाइ किन जरुरी छ तपार्इको विचारमा ?

गायक बन्छु भन्नेहरुलाई शास्त्रीय सङ्गीतको सिकाइ निकै जरुरी छ | यो बिना गायन अपूर्ण छ | जसरी बलियो जग बिना घर बन्न असम्भव छ, त्यसरीनै शास्त्रीय सङ्गीतको सिकाइ बिना संगीतक्षेत्रमा पाइला चाल्न मुस्किल छ | शास्त्रीय सङ्गीत एउटा “ग्रामर” हो | यसले निश्चित ढाँचामा गायनलाई लैजान्छ | जसरी कुनै पनि भाषा सिक्न व्याकरण पनि सिक्न जरुरी हुन्छ, त्यसरी नै गीत गाउन अथवा गायक बन्न शास्त्रीय सङ्गीत सिक्नै पर्छ |

  • के शास्त्रिय सङ्गीत मात्र एउटा गायकीपन नाप्ने कडी हो त ?

हुन सक्दैन तर धेरै मात्रामा हो पनि | भने नि,, शास्त्रीय सङ्गीत व्याकरण हो | यो शास्त्रबाट उदाएको एउटा अमूल्य ज्ञान हो | ईतिहासदेखी आजसम्म शास्त्रीय सङ्गीतले श्रोतालाई कर्णप्रिय एवम् मन छुने गीत दिँदै आएको छ | शास्त्रीय सङ्गीत सिक्नु भनेको शास्त्र सिक्नु हो | यसले पुर्खाको गायन शैली सिकाउँछ

र यसले शुद्ध सङ्गीत सिकाउँछ | जसरी फिल्टर गरेको पानी मात्रा खान लायक पानी हो,  त्यसरी नै शास्त्रीय संगीतमात्र एउटा योग्य विधा हो |

  • इतिहासको कुरा गरिहाल्नु भो, खासमा के थियो शास्त्रीय सङ्गीतको इतिहास ?

शास्त्रीय सङ्गीत शास्त्रबाट आएको हो | मान्नेले यसलाई शङ्कर, नारद, सरस्वतीबाट आएको पनि भन्छन् | तर आज हामीले सुन्ने गरेको र बुझेको शास्त्रीय सङ्गीत भनेको “भारतबर्ष”  बाट सुरु भएको हो | मानवजातीको श्रृष्टी भएदेखी नै सङ्गीत अस्तित्वमा छ | सङ्गीत आजसम्म कहीँ कसैसामु झुकेको छैन | राजामहाराज पनि सङ्गीतको नशासामु हार्थे | पहिला पहिला सङ्गीत, बिना राग बिना ताल गाइन्थ्यो | बिस्तारै ताल र रागको विकास भयो | अनि वाध्यवाधन पनि अस्तित्वमा आयो | त्यसरी क्रमैसँग सङ्गीतको विकास भएको हो | भारतबर्षका विद्वानहरुले सङ्गीतको विकासमा ठुलो योगदान पुर्‍याउनु भएको छ |

  • ती विद्वानलाई सम्झिनुपर्दा को को हुनुहुन्छ ?

बिशेषगरी स्वामी हरिदासजी, तानसेन, वैजु बावरा लगायतका विद्वानहरु नै सङ्गीतलाई एउटा उचाइ दिने विद्वानहरु हुनुहुन्छ |

  • नेपाली विद्वानहरुको योगदान कस्तो रहेको छ शास्त्रीय सङ्गीतमा ?

नेपाली विद्वानले पनि शास्त्रीय सङ्गीतमा ठुलो योगदान दिनुभएको छ | संगीतशिरोमणी गणेश लाल श्रेष्ठ, पण्डित नरराज ढकाल लगायतका विद्वानले अतुलनिय योगदान दिनुभएको छ | तर विडम्बना हामी धेरैले उहाँहरूलाई चिन्दैनौं | नेपालमा यही परिपाटी कायम हुनाले हाम्रो सङ्गीत त्यति  सोचे अनुरूप अघि नबढेको हो |

  • शास्त्रीय सङ्गीतका विधाहरु कुन कुन छन् त ?

खासमा दुइटा विधा छन् शास्त्रीय सङ्गीतमा | एउटा दक्षिण भारतीय शास्त्रीय सङ्गीत जसलाई हामी कर्नाटक सङ्गीत पनि भन्छौ, र अर्को हो हिन्दूस्तानी सङ्गीत | तर सुफी पनि एउटा शास्त्रीय विधानै हो | यो बिशेषत: धार्मिक गायन हो | इस्लाम धर्म सँग सम्बन्धित गायन | यस् विधालाई उस्ताद नुसरत फतेह अलि खानले उचाइ दिलाउँनु भयो | मानिससामु लिएर आउँनु भयो |

  • नेपालमा अब सङ्गीत क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवालाई सङ्गीत क्षेत्रमा कतिको अवसर छ ? उनीहरूको भविष्य सुनिश्चित छ कि छैन ?

भविष्य त सुनिश्चित छ | बस् मेहनत र लगाव आवश्यक छ | सङ्गीतलाई खेलठट्टा सम्झिनु भएन | अब मेरै कति विद्यार्थीहरू चप्पल लगाएर सिक्न आउँथे अहिले कार चढेर हिड्छन् | तर उनीहरूले निकै परिश्रम गरेका थिए | लगाव उनीहरूमा अत्यन्त धेरै थियो | राम्रो गीत गाउनेलाई विदेशबाट समेत अवसर आउँछन् | नेपाल भित्रै पनि उनीहरूको अत्यन्त माग हुन्छ | यो सबै अवसर हो सङ्गीत क्षेत्रमा खटेकाहरुलाई |

  • तेसो भए अब सङ्गीत क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवालाई के सल्लाह दिन चाहनु हुन्छ ? एउटा गुरुको नाताले एउटा सङ्गीतकारको नाताले ?

म यही भन्न चाहन्छु कि आफूमा गायन क्षमता देख्नुहुन्छ भने अथवा संगीतप्रती निकै रुचि भएको महसुस हुन्छ भने तुरुन्त सङ्गीत सिक्न थालनुस् | सङ्गीत सिक्नाले पढाइमा असर पर्छ भन्ने बुझ्नु भएन त्यो गलत हो | सङ्गीतले केवल विकास मात्र हुन्छ, बिनास गर्न सङ्गीतले जानेको छैन | सङ्गीतले नशा, लागुपदार्थ, दुर्व्यासनीबाट समेत जोगाउछ | सङ्गीत हरेक रोगको उपचार हो | मैले छ वर्ष को उमेरदेखि सङ्गीत सिक्न थालेको हुँ | त्यो सम्भव नहोला तर कम्तीमा सङ्गीत सिक्नुस् | यसले व्यक्तित्व विकासमा पनि मद्दत गर्छ |

  • सङ्गीत सिक्दा गर्नुपर्ने त्याग अथवा बसाल्नु पर्ने बानी के के होलान् ?

मुख्य कुरा त अमिलो, चिल्लो, पिरो त खानै भएन | यसले आवाज बिगार्छ | अनि यदि खाने नै भइयो भने पनि निकै थोरै खानुपर्छ | खाँदै नखादा धेरै राम्रो | अनि साधना दिनको दुई घण्टा अत्यावशेक हो | बिहान गर्दा निकै उचित हुन्छ | गीत राम्रो सुन्नु पर्छ | नाच्ने गीत भन्दा पनि सुन्ने अनि गाउन मिल्ने  गीत साधना गर्दा निकै राम्रो हो |

  • अहिले कलाकारहरू देशको सम्पत्ति हुनभन्दा पनि पार्टीको सम्पत्ति भएका छन् | पार्टीकै गीत गाउँछन्, सङ्गीत भर्छन्, त्यस्तालाई के भन्नु हुन्छ ?

कलाकार कहिले पनि एउटा राजनीतिक दलको हुनै सक्दैन | होला कुनै गायक कुनै दल सँग निकट होला | तर यसो भन्दैमा उसले सारा श्रोता र सङ्गीत क्षेत्रकै मनदुखाउने गरी एउटा राजनीतिक दललाई सहयोग गर्नु हुन्न | मलाई काङ्रेसले बोलाउँन सक्छ, एमालेले बोलाउँन सक्छ,  माओवादीले पनि बोलाउँन सक्छ तर तेसो भन्दैमा के म दलको परिचय बोकेर हिँड्नु त ? यो त अलि सूहाउदैन नि |

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =