वाम गठबन्धनको चुनावी सभा : प्रचण्डको ठाउँमा बादलले सम्वोधन गर्ने

मंसिर ६, काठमाडौं । वाम गठबन्धनको पूर्व घोषित कार्यक्रम अनुसार आज रुपन्देहीको बुटवलमा चुनावी सभा हुँदैछ । गठबन्धनका सभाहरुमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि पुत्र वियोगमा परेका प्रचण्डले ति सभाहरुमा सम्बोधन गर्नेछैनन् । प्रचण्डको ठाउँमा माओवादी नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्नेछन् ।

बुटवलको सभालाई पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता बादलले सम्वोधन गर्नेछन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डले पनि सभालाई सम्बोधन गर्ने भनिएको थियो । आयोजकले पनि ओली र प्रचण्ड मुख्य वक्ता भनेर तस्वीरसहितको व्यानर र पोष्टरहरु तयार पारेका थिए । तर छोरा प्रकाश दाहालको निधन भएकाले प्रचण्डले चुनावी सभालाई सम्वोधन गर्ने छैनन् ।

मंगलबार चितवनको सभामा पनि प्रचण्ड उपस्थित मात्रै भए, सम्वोधन गरेनन् । प्र्चण्ड बुधबार दिउँसो काठमाडौं फर्किँदैछन् । जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा सहभागी भएर प्रचण्ड काठमाडौं फर्किन लागेका हुन् । मंगलबार चितवनमा आयोजित सभामा गीत गाउँदागाउँदै अस्वस्थ भएका पाख्रिनको नारायणी सामुदायीक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । बुधबार चितवनको माओवादी पार्टी कार्यालयमा पाख्रिनको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =