चिडियाघरमा बाघले महिलालाई झम्टिएपछि…, यस्तो भयानक दृश्य

“
रुसको एउटा चिडियाघरमा खाना दिन जाने क्रममा एक जना महिलालाई बाघले आक्रमण गरेको छ । रुसका कालिनिनग्राद चिडियाघरमा रहेको ‘टाइफून’ नाम दिइएको साइबेरियाली बाघले आक्रमण गर्दा चिडियाघरकी हेरालु महिला गम्भीर घाइते भएकी हुन् । ती महिला खान दिन गएको समयमा बाघको खोरको ढोका खुलै भएको र एक्कासी महिलामाथि बाघले झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनलाई बाघले झम्टिएको देखेपछि चिडियाघर भ्रमणमा आएका मानिसले चिच्याउने, ढुंगा तथा कुर्सीले हानेपछि मात्र बाघले ती महिलालाई छोडेको थियो । नाम नखुलाइएकी ती महिलालाई रगताम्ये हुने गरी बाघले झम्टेको र तत्कालै अस्पताल लगिएको थियो ।
उनी अहिले खतरामुक्त रहेको बताइएको छ । वेरा नाम गरेकी एक प्रत्यक्षदर्शीका अनुसार ती महिलाले बेस्सरी चिच्याएकी थिइन् । उनले भनिन्, ‘हामीले चिच्याएको सुन्यौँ । उनले १० मिनेटसम्म चिच्याइराखिन् ।’ वेराले त्यो दृश्य आफ्नो छोरालाई देखाउन नसकेको बताइन् ।
प्रत्यक्षदर्शीले जनाए अनुसार घटना भएको केही समयमा नै डाक्टरको टोली आएर घाइते महिलालाई अस्पताल लगेका थिए । महिलालाई आक्रमण गर्ने बाघ संसारकै ठूलो प्रजातिका बाघ हो ।
बाघ निकै तनावमा भएकाले आक्रमण गरेको हुन सक्ने चिडियाघर प्रशासनले जनाएको छ । चिडियाघरका प्रवक्ताले जनाएअनुसार यो चिडियाघरको इतिहासमै बाघले मानिसलाई आक्रमण गरेको यो पहिलो घटना हो । सन् २००१ मा जन्मेको ‘टाइफून’ यसैवर्ष १६ वर्षमा प्रवेश गरेको छ । यो प्रजातिको बाघको औषत आयु १५ वर्ष हुन्छ ।
“








