विजयकुमार गच्छदारको राजनीतिक यात्रा

“
२०६४ सालपछि मधेसमा उठेको क्षेत्रीय राजनीतिको राप देखेर २०२६ सालदेखिको कांग्रेसी राजनीति करियरलाई तिलाञ्जली दिँदै मधेसको मसिहा बन्न गएका विजयकुमार गच्छदार पुनः नेपाली काँग्रेसमा फर्किएपछि नेपाली राजनीतिमा तरङ्ग फैलिएको छ । उनको बर्हिगमनले मधेसमा काँग्रेसलाई जति घाटा लागेको थियो, आवागमनले त्यत्तिकै फाइदा होला नहोला पछिको कुरा हो ।
आज बालुवाटारमा काँग्रेसका नेताहरुसँग गच्छदारले आँखाभरि आँसु देखाउँदै हात मिलाई रहँदा धेरैले उनको आँसुलाई ‘गोहीको आँसु’सँग तुलना गरे । उनलाई मधेसी राजनीतिमा ‘चलाख’ नेताका रूपमा लिइन्छ । उनी नेपाली राजनीतिमा सबैभन्दा बढी पटक सत्तामा गएका नेता पनि हुन् । हालसम्म उनी पटकपटक गरेर १२ पटक मन्त्री भईसकेका छन् ।
अहिले माओवादी एमालेको गठबन्धनले काँग्रेस र मधेशवादी दलमा पत्तासाफ हुने हो की भन्ने त्रास बढेको छ । स्वर्गिय गिरीजाप्रसाद कोइरालाको छत्रछाँयामा रहेर मधेसको राजनीति गरेका गच्छदारले मधेसका जनताका लागि के कस्तो योगदान दिए त्यो पछिको चर्चाको विषय बन्ला तर, अहिले हामी उनको राजनीतिक करियरमा उनी कति पटक सत्तामा पुगे चर्चा गर्ने छौँ ।
विजयकुमार गच्छदारले २०२६ सालदेखि नेपाली काँग्रेसमा रहेर राजनीति सुरु गरेका हुन् ।
मधेसको राजनीतिमा विजयकुमार गच्छदार जत्तिको सफल र भाग्यमानी मधेसी नेता अहिलेसम्म कोही जन्मिन सकेनन् । उनले मधेसी जनताका लागि गरेको योगदानले भन्दा पनि शक्ति र सत्तारोहणमा उनले निभाएको चार्तुयता, चाप्लुसी र व्यक्तिगत स्वार्थका कारण उनी सफल भएका हुन् । व्यक्तिगत रूपमा गच्छदारले पाएको सफलता र सत्ताका कारण उनलाई नेपाली राजनीतिमा ‘चेसको घोडा’ नै भन्ने गरिन्छ । उनको अद्भुत क्षमता भनेको ‘छेपारे राजनीति’ गर्नु हो । गच्छदारले सत्ताका लागि कतिबेला कहाँ कसरी कसलाई अंगाल्छन् र लात हान्छन् भन्ने कसैले अनुमान गर्न सक्दैनन् । उनी राजनीतिमा हुने छक्का–पञ्जाका सफल खेलाडी हुन् ।
गच्छदारको शरीरमा कांग्रेसी ‘खुन’ नै छ । तर, व्यक्तिगत स्वार्थ पुरा गर्न उनले काँग्रेसलाई यसरी लात हानेका छन् की अबको मधेसको राजनीतिमा काँग्रेसलाई विगतमा जस्तो बहुमत आउने ठाउँ नै छैन । अहिले माओवादी–एमाले बिचको गठबन्धनले कांग्रेसीलाई नजिक ल्याउने अवसर बनाई दिएको मात्र हो । गच्छदारका विगतका इतिहास केलाउँदा उनी देश र जनताका लागि राजनीति गर्न सक्ने नेता हैनन् । उनी जति पटक सत्तामा गए, मन्त्री भए पनि आफ्नै गृह जिल्लालाई समेत केही गर्न नसक्ने नेताका रूपमा परिचित छन् । उनको गृहजिल्ला सुनसरी क्षेत्र नं. ३ हो । उनले यहाँबाट धेरै निर्वाचन लडेर विजयी भए पनि त्यहाँका जनताको विकास र संवृद्धिमा गाउँमा दुई चार वटा कल्भर्ट र पुल बन्नु बाहेक केही भएको छैन ।
जनआन्दोलन र मधेस आन्दोलनपछि गच्छदारले मधेसी जनाधिकार फोरमबाट राजनीति गरे । उनी काँग्रेसबाट तीनवटा संसदीय निर्वाचनमा विजयी भएका व्यक्ति हुन् । २०४८, २०५१ र २०५६ को निर्वाचनमा उनले जितेका थिए । भने, त्यसपछि पहिलो संविधान सभा र दोस्रो संविधान सभामा पनि विजयी भएका थिए । मधेसमा उनको वर्चस्व बढ्दै गएपनि ०६४ साल पछिको मधेस आन्दोलनमा उनले पार्टी परित्याग गरेर उपेन्द्र यादवसँग गएका थिए ।
उनी काँग्रेसबाट बारम्बार मन्त्री हुने सौभाग्यशाली नेताका रूपमा परिचित छन् । मधेसी जनाधिकार फोरमबाट गच्छदार माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारमा मन्त्री बने । गच्छदारले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल फुटाएर आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) २०६६ साउनमा गठन गरेका थिए । उनी त्यत्तिबेला माधव नेपाल सरकारमा पहिलो पटक उपप्रधान तथा गच्छदार भौतिक योजना मन्त्री भए ।
त्यसपछि डा.बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा गृहमन्त्री भए । दोस्रो संविधान सभापछि गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री भए । भने, प्रचण्ड नेतृत्वको सरकारमा अन्तिम समयमा सहभागी भए । र, अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्न सफल भए ।
गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी ८ पीचरामा भएको हो । उनले इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनी, गृहमन्त्री, स्थानीय विकास मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री, सञ्चार राज्य मन्त्री, निर्माण तथा यातायात मन्त्री जस्ता महत्त्वपूर्ण स्थानमा पुगिसकेका छन् । उनी तीन पटक निर्माण तथा यातायात मन्त्री, तीन पटक भौतिक तथा योजना, दुई पटक जलस्रोत मन्त्री समेत भईसकेका व्यक्ति हुन् । गच्छदार अहिलेसम्म १२ पटक मन्त्री भएका छन् । यसरी नेपाली राजनीतिमा सदैव शक्ति र सत्तामा भएपनि गच्छदारले नेपाली जनताका लागि कुनै गतिलाे काम त गर्न सकेनन् । अाफ्नै स्थानीय क्षेत्रलार्इ समेत केहि गर्न सकेनन् । उनी ३/३ पटक मन्त्री भएकाे निर्माण तथा यातायात र भाैतिक याेजना निर्माण मन्त्रालय अहिले सबैभन्दा बढि भ्रष्टाचार हुने क्षेत्रका रूपमा परिचित छ ।
“








